सोसल मिडिया
युनिकोड
विश्वका अग्ला हिमालका चुचुरा छिचोल्दै हिँडेका निर्मल पुर्जा उर्फ निम्स-दाइ अब रहेनन्। साहसिक पर्वतारोहणको दुनियाँमा ‘असम्भव’लाई सम्भव पार्न सिपालु निम्स दाइलाई हिउँ पहिरोले लग्यो।
अब हामीले नपत्याइ भएन। किनकि शनिवार अपरान्ह प्रख्यात एडभेन्चर कम्पनी ‘एलाइट एक्सपेडिसन’ले शोक वक्तव्य सार्वजनिक गर्दै भनिसक्यो- ‘आज हामीले निम्सलाई मात्र नभई यस त्रासदीमा ज्यान गुमाउने हाम्रा विश्वासिला आरोहण साथीहरू र गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा लगायत सबैलाई गुमाएका छौँ।’
आफ्नै नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा पुगेका थिए। यसपटक पनि सफल आरोहण गर्थे तर प्रकृतिले उनको हिम्मत देखेर इर्श्या गर्यो र निर्मम भयो। गत बिहीबार मध्याह्नतिर गएको भीषण हिमपहिरोमा निम्स दाइ परेका थिए।
उनका साथीहरु क्रमश एक पछि अर्को गरी मृत भेटिए तर उनी फर्किने छन् भन्ने आश थियो। उनी फर्किने कामना विश्वभरका हिमालपारखी तथा आरोही समुदायले निरन्तर गरेको थियो। उनी भेटिए तर मृत अवस्थामा।
हिमाली संगतमा परेका निम्स-दाइ उमेरको ४३ वर्षमै बिलाए। उनी भन्थे, ‘नथिङ इज इम्पोसिबल ।’ असम्भव भन्ने नै हुँदैन।
निम्स-दाइले नचढेको अग्ला हिमाल सायदै थिएन। हिमाल चढेर एक पछि अर्को रेकर्ड बनाउँदै आएका निम्स-दाइलाई यसपटक भने हिमालले नै झुक्यायो। आफ्नै सहास र अठोटसँग उनी हारे।
विश्वका सबैभन्दा सफल पर्वतारोहीमध्ये एक आफूलाई बनाएका निम्स-दाइले ब्रड पिक उग्लिनु अघि ग्यासरब्रुम–२ (जी–२) मात्र आरोहण गर्ने योजना बनाएका थिए। र त्यो कुरा सामाजिक सञ्जालमा लेखेकै थिए। तर पाकिस्तान जानुअघि उनले ब्रड पिक पनि आरोहण गर्न सकेमा अक्सिजनबिना विश्वका १४ वटा आठहजारे हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्न अब एउटा हिमाल मात्र बाँकी रहने महसुस गरे।
बेपत्ता हुनुभन्दा केही दिनअघि सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए, ‘यो योजना पहिले बनाएको थिएँ भन्ने होइन। अवसरहरू चिच्याएर आउँदैनन्, चुपचाप मेहनत गरिरहेकाहरूलाई फुसफुसाएर आउँछन्।’
उनले ब्रड पिकबारे लेखेका थिए, ‘म ब्रड पिकसँग सुरक्षित रूपमा माथि पुगेर फर्किन सकूँ भन्ने बाहेक केही माग्दिनँ। कुनै पनि हिमाललाई म कहिल्यै सामान्य ठान्दिनँ।’ यसअघि उनले जुलाई २१ मा ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरेका थिए। त्यो उनको ८ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण थियो।
निम्स-दाइ हरेकपटक नयाँ किर्तिमान राख्न इच्छुक हुन्थे। हिमालसँग उनको अनौठो लगाव थियो। धौलागिरी हिमालको फेदमा जन्मिएका निम्स-दाइ यसपाली पनि नयाँ किर्तिमानको सँघारमा थिए। हिमाल आरोहणको १४ वर्ष अविराम हिँडे र विश्वको मन जिते। त्यो जितारु, त्यो सहासिक योद्धा निम्स-दाइको हिमाल यात्रा भने म्याग्दीबाट सुरु भएको थियो।
लाहुरे निम्स-दाइको हिमाल-यात्रा
म्याग्दीको सुन्दर दानामा जन्मिएका निम्स-दाइ चितवनमा खाइ-खेली हुर्किए। प्रारम्भिक शिक्षा चितवन रामपुरमै गरे। लाहुरे परम्परामा हुर्किएका निम्स-दाइ सानैदेखि कडा अनुशासन, कठोर मेहनत र केही बेग्लै गरेर देखाउने उच्च महत्त्वाकाङ्क्षा राख्ने स्वभावका थिए।
बुवा र दाजु नै लाहुरे भएपछि उनले अन्त सोचेनन्। अग्रजको पदचाप पछ्याउँदै उनले बाल्यकालदेखि नै आफूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाएका थिए गोर्खा सैनिक हुन्।
तर गोर्खा फौजमा एकैपटकमा सफल भने भएका थिएनन्। उनले दोस्रो पटकको प्रयासमा मात्रै सफल भएका थिए।
सन् २००३ मा १८ वर्षको उमेरमा दोस्रोपटकको कोसिस पछि बेलायती सेनाको ‘ब्रिटिस गोर्खा’ मा छनोट भएका थिए। गोर्खा राइफल्समा ६ वर्षको सफल सेवापछि उनी ब्रिटिस रोयल नेभीको अत्यन्त कठिन र प्रतिष्ठित विशेष सैन्य टोली ‘स्पेशल बोट सर्भिस’मा प्रवेश पाउने पहिलो नेपाली बने। जल, स्थल र हवाई तीनै क्षेत्रमा निपुण हुनेलाई ‘स्पेशल बोट सर्भिस’मा मा लगिन्थ्यो । सैन्य सेवाका क्रममा अफगानिस्तानका खतरनाक युद्धक्षेत्रहरूमा १६ वर्ष बिताएका उनले कठिन परिस्थितिमा निडर निर्णय लिने कला सिके।
उनको यस असाधारण सैन्य योगदानका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट उनलाई प्रतिष्ठित नागरिक सम्मान ‘एमबीई’ प्रदान गरिएको थियो। साथै सन् २०२१ मा उनलाई बेलायतको इस्टलेइ बरो काउन्सिलले सर्वोच्च सम्मान ‘अनररी फ्रिडम अफ द बरो’ बाट समेत सम्मानित गरेको थियो।
यत्तिका सफलताबिच पनि उनले हिमाल बिर्सिन सकेनन्। धौलागिरी हिमालको त्यो सुस्केरा त उनले बाल्यकालमै सुनेका थिए। त्यसैले हिमालको हावा र उचाइले उनलाई बोलाइ छाड्यो। सन् २०१८ मा उनले पर्वतारोहणको नयाँ अध्याय कोर्न आफ्नो १६ वर्ष लामो सैन्य करिअरबाट राजीनामा दिए।
सन् २०१२ मा उनी सगरमाथा आधार शिविर पुगे थिए दोर्जी खत्री नामक गाइडसँग। अनि चढे लोबुचे इस्ट चुचुरो। त्यसपछि आठ हजार मिटरमाथिको हिमाल चढेको समय भने १२ वर्ष भयो।
सन् २०१४ मा म्याग्दीको विशाल हिमाल धौलागिरीको आरोहण गरे, जसको सुस्केरा बाल्यकालमा उनको कानमा परेको थियो। सगरमाथा आधार शिविरमा सन् २०१२ मा पुगेका निम्स-दाइले पहिलो सफल आरोहण सन् २०१६ मा गरिहाले। त्यसको एक वर्षपछि बेलायती गोर्खा सैनिकको आरोहण दलमा गएर फेरि आरोहण गरे।
उनले जब ‘प्रोजेक्ट पसिबल’का लागि ६५ हजार पाउन्ड जोहो गरे जबकि उनको कुल प्रस्तावित बजेट साढे ७ लाख पाउन्ड थियो। अन्ततः उनी आर्थिक संकलनदेखि आरोहणसम्म सफल भए।
‘प्रोजेक्ट पोसिबल’ बनाउने निम्स दाइ
यात्रा उनको हिमालसँग रह्यो। जीवनमा उनको खुट्टाले हिउँका पत्र-पत्र छोएको छ। धेरै नेपाली शेर्पा बन्धुहरु विदेशीलाई गाइडका रुपमा हिमाल चढाउँथे तर उनले तिनै शेर्पा साथीहरूको साथमा हिमाल चढे। र त्यसलाई अभियानका रुपमा अगाडि बढाए। त्यो अभियानको नाम थियो- ‘प्रोजेक्ट पसिबल’ ।
विश्व रेकर्ड बनाउने उदेश्यले यो परियोजना चलाएका थिए सन् २०१९ मा। तर यसका लागि थुप्रै पैसा चाहिन्थ्यो। कतिसम्म गरे भने लण्डनस्थित आफ्नो घरै धितोमा राखे र पैसाको जोहो गरे। अनि विभिन्न स्थानबाट फन्डिङ र सहयोगी हातलाई गुहारे। यस अभियानमा उनले अन्तर्गत १४ हिमाल आरोहण गर्नु पर्थ्यो।
भनिन्छ, उनलाई श्रीमतीको हात र साथ हुन्थेन भने उनको अभियान सफल हुन्थेन। जोखिम उठाउन पछि नहट्ने निम्स-दाइ रमाइलो पनि गर्थे। यात्रामा धेरै पटक रमाइलो गर्दा लामो हुन पुगेको कतै भनेका छन्। उनले एक अन्तर्वार्तामा सगरमाथा, ल्होत्से र मकालु तीन दिनमै आरोहण गर्न सक्ने भए पनि दुई रात साथीहरूसँग रमाइलो गर्न रोकिएकाले पाँच दिन लागेको बताएका थिए।
१४ हिमाल सबैभन्दा छिटो आरोहण गर्ने रेकर्ड बनाउने उनको परियोजना सफल पनि भयो। एक कोरियाली आरोही किम चाङ होले झण्डै आठ वर्ष लगाएर गरेको आरोहण पुर्जाले ६ महिना ६ दिनमै सिध्याएका थिए। सबैभन्दा पहिलो आरोहण आफू जन्मेकै प्रदेश गण्डकीको अन्नपूर्णबाट गरेका थिए। उनी १४ अप्रिल सन् २०१९ मा चुचुरोमा पुगेका थिए।
सबैभन्दा अन्तिम चुचुरो चीनको सिसापाङ्मा भयो, जहाँ उनी अक्टुबर २९ मा पुगेका थिए। यही ऐतिहासिक आरोहणको कारणले उनको आरोहण कथाको पुस्तक ‘बियोन्ड पसिबल’लाई पाठकले भव्य मन पराइदिए। उनी भन्ने गर्थे- ‘कुनै दौड नभइ मानव क्षमताको जाँच हो।’
यसपटकको जाँचमा भने उनी फेल हुन पुगे। सिंगो नेपाललाई चिनाउन सफल निम्स-दाइ यो पटक आफ्नै निर्णयका कारण फेल भए तर उनको जीवनी सफल हो। सफल रहने छ। सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढ्ने अभियान पूरा गरेका निम्स-दाइ हिमाल आरोही र सैनिकलाई मात्रै नभएर आम मानिसलाई प्रेरणाको स्रोत हुन।
निम्स दाइले केवल ६ महिना ६ दिनमा ती सबै १४ वटा हिमालको सफल आरोहण गरेर विश्वलाई नै अचम्ममा पार्दै अभूतपूर्व विश्वकीर्तिमानी रचेका थिए। नर्वेकी आरोही क्रिस्टिन हारिला र नेपाली आरोही तेन्जेन लामा शेर्पाले ९२ दिनमै सन् २०२३ मा चढेर रेकर्ड तोडेका थिए।
यो रेकर्ड भविष्यमा अरु कसैले पनि तोड्न सक्छ। तर, निम्स-दाइ को तोड्न नसकिने रेकर्ड पनि छ। उनकै नेतृत्वमा १६ जनवरी २०२१ मा पाकिस्तानको माउन्ट के–टुको प्रथम विन्टर आरोहणको कथा भने कसैले तोड्न नसक्ने कथा भएको थियो।
विश्वका सबै हिमाल समर र विन्टर दुवै सिजनमा आरोहण भइसकेर पनि हिमाली आरोहण भएको दशकौँ बित्दासमेत त्यो रेकर्ड कसैले नबनाउँदा निम्स-दाइको टोलीले बनाएको थियो। अझ भावुक बनाउने कुरा त चुचुरोमा आरोहीहरूले नेपाली राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…’ गाएका थिए।
यो भिडियो हिमाली समुदाय र आरोहीवृत्तमा मात्रै सीमित नभएर भारतका नेता राहुल गान्धीले पनि सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
यतिमात्र होइन, सन् २०२१ को हिउँदमा आरोहणका लागि मानिसको परिकल्पनाभन्दा बाहिर मानिएको पाकिस्तानको अति खतरनाक के टु हिमालको पहिलो सफल हिउँदकालीन आरोहण १० जना नेपाली आरोहीको टोलीसँगै गरेर उनले इतिहासको पानामा नेपालीको नाम स्वर्ण अक्षरले लेखे।
सन् २०१९ को अभियानका क्रममा सगरमाथाको चुचुरोतर्फ जाँदै गरेका आरोहीहरूको लामो लाइनको तस्बिर उनले खिँचेका थिए। उक्त भाइरल तस्बिरले सर्वोच्च हिमालमा बढ्दो भिडभाड र सुरक्षा जोखिमबारे अन्तर्राष्ट्रिय स्तरमै गम्भीर बहस छेडिदिएको थियो।
निम्स दाइको आरोहण केवल व्यक्तिगत कीर्तिमानका लागि थिएन। दशकौँदेखि पश्चिमा आरोहीको सहयोगी ‘गाइड’ वा ‘भरिया’ का रूपमा मात्र हेरिने नेपाली शेर्पा र हिमाली आरोहीहरूको क्षमता, नेतृत्व र स्वाभिमानलाई विश्वसामु प्रमुखताका साथ स्थापित गर्नु उनको मूल ध्येय थियो। उनले स्थापना गरेको ‘एलिट एक्सपेड’ मार्फत उनले हिमाली पर्यटनलाई नयाँ उचाइ दिए र संसारमा केही पनि असम्भव छैन भन्ने सन्देशलाई आफ्नै पसिना र साहसले प्रमाणित गरे।
‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’
जीवनमा हिमाल मात्रै चढेनन् उनी। हिमाललाई आफ्नो प्रतिभामार्फत विश्व फिल्म बजारमा पुर्याए। ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री (फिल्म) ले थप मन जितेका थिए। हिमाली यात्राको अभूतपूर्व सिनेम्याटिक क्यानाभासमा उतारेका थिए र यसको मुख्य पात्र स्वंय थिए।
आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण यात्राको सेरोफेरोलाई समेटिएको उक्त डकुमेन्ट्री नेटफ्लिक्सले बजारमा ल्याएको थियो।
विश्वबजारमा तहल्का मच्चाउने गरी चलेको यो वृत्तचित्रले असम्भव केही छैन भन्ने सन्देश दिन्छ। उनको यो यात्रामा आधारित नेटफिल्क्सको वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पसिबल’ ले विश्वभरका मानिसहरूलाई सपना देख्न र त्यसलाई पछ्याउन प्रेरित गर्यो। ओस्कर विजेता वृत्तचित्रकर्मी जिम्मी चिन र एलिजाबेथ चाई भासरहेली तथा स्वयम् निम्सदाइ कार्यकारी निर्माता रहेका छन् ।
यो डकुमेन्ट्री बनाउन उनले आफ्नै हिमालको खतरनाक यात्राका क्रममा आफैँले भिडियो खिचेका थिए र यसको निर्देशन टर्किल जोन्सले गरेका थिए।
निम्स दाइ आफैंसँगै मिङ्मा डेभिड शेर्पा, गेल्जेन शेर्पा, गेसमन तामाङ र लाक्पा डेन्डी शेर्पाले खतरनाक ‘डेथ जोन’ मा १०० घण्टाभन्दा बढीको भिडियो फुटेज खिँचेका थिए। त्यसैगरी ललित गुरुङ, सागर गुरुङ र सान्द्रो ग्रोमेन-हेयसले आधार शिविर र अन्य तल्लो क्षेत्रबाट छायांकनमा सघाएका थिए।
आरोही पुर्जाले सपना देख्ने हरेक मानिसका लागि यो फिल्मले प्रेरणाको काम गर्ने बताएका थिए ‘यो फिल्ममा मेरो मात्रै नभएर मलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुको कथा समेटिएको छ । यो फिल्म पर्वतारोहणका बारेमा मात्रै होइन सङ्घर्ष र सफलताको दस्तावेज पनि हो,’ उनले भनेका थिए।
यस डकुमेन्ट्री हलिउड म्युजिक इन मिडिया अवार्ड (2021) – सर्वोत्कृष्ट डकुमेन्ट्रीको मौलिक सङ्गीत विधामा मनोनयन भएको थियो। प्राइमटाइम क्रिएटिभ आर्ट्स एमी अवार्ड (2022) – डकुमेन्ट्रीका लागि उत्कृष्ट मौलिक सङ्गीत विधामा मनोनयनको थियो साथै बाफ्टा फिल्म अवार्ड 2022 – सर्वोत्कृष्ट डकुमेन्ट्री को लङलिस्टमा परेको थियो।
‘ब्रोड पिक’ मा बिलाएकालाई सम्झिनेहरु
ठूलो मुटु हुनुले मात्रै ब्रोड पिक चढ्छन् भन्थे हिमाल यात्रा बुझेकाहरू। त्यस्तै बलियो मुटु लिएर निम्स-दाइ गत विहिबार ‘ब्रोड पिक’ उग्लिरहेका थिए। तर उनको भाग्यले साथ दिएन। होइन मौसमले साथ दिएन।
खासमा ‘ब्रोड पिक’ पृथ्वीको १२औँ अग्लो (८,०४७ मिटर) र कराकोरम पर्वतशृङ्खलाको तेस्रो अग्लो हिमालका रुपमा परिचित हिमाल हो । यो हिमाल आरोहणका दृष्टिले अत्यन्तै चुनौतीपूर्ण मानिन्छ। करिब २ किलोमिटर लामो (शिखर धार) भएको यस हिमालमा सन् २०१२ सम्म ४०४ सफल आरोहण हुँदा २१ जनाले ज्यान गुमाइसकेका थिए, जसले यसको जोखिम र ५ प्रतिशतको मृत्युदरलाई देखाउँछ।
विश्वका पर्वतआरोहीहरु यहाँ चढ्न उत्साहित छन्। विश्वका सबै १४ वटा हिमाल चढ्ने होडबाजी र आकर्षण बढेसँगै पाकिस्तानका हिमालहरू पर्वतारोहीका लागि दोस्रो घर बन्दै आइरहेको छ। यी १४ हिमालमध्ये ५ वटा पाकिस्तानमा, ८ वटा नेपालमा र २ वटा चीन (तिब्बत) मा पर्छन् (सगरमाथा नेपाल र चीन दुवैतर्फबाट चढिन्छ) । त्यसैले ब्रोड पिकको चुनौती र पाकिस्तानी हिमालमा नेपाली शेर्पाको साइनो बनेको थियो।
नेपालका दक्ष शेर्पाहरू वसन्त ऋतुमा नेपालकै हिमालहरूमा व्यस्त हुन्छन्। नेपालमा मनसुन (वर्षा) सुरु भएपछि भने आरोहणको अनुकूल मौसम खोज्दै शेर्पाहरू पाकिस्तानतर्फ लाग्छन्। पाकिस्तानी पर्वतारोही र लेखक खिमलाल गौतमका अनुसार सबै १४ वटा हिमाल आरोहण गर्ने प्रतिष्ठा बढेपछि पाकिस्तानका हिमालहरू नेपाली शेर्पाका लागि दोस्रो प्रमुख कार्यस्थल बनेका छन्। यद्यपि युरोप, अमेरिकादेखि अन्टार्कटिकासम्म नेपाली शेर्पाको माग विश्वभर नै छ।
सैन्य अनुशासन, अद्भुत शारीरिक क्षमता र अदम्य साहसका पर्याय बनेका निर्मल पुर्जा ‘निम्स दाइ’ ले हिमाली खेलकुदका पुराना मान्यताहरूलाई तोड्दै नेपालको नाम विश्वको सर्वोच्च शिखरमा पुर्याएका थिए। तिनै वीरपुत्र र उनका साथीहरू ब्रोड पिकको सेतो हिउँभित्र सधैलाई बिलाए।
प्रधानमन्त्री बालेन्द्र साहले उनलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै लेख्छन्- ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।
तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ।’