प्रचण्डले ओलीसँग कुम मिलाउँदा माधव नेपाल भाउन्न, यसरी दुखाए चित्त 

मंगलबार, साउन १२, २०८३

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति गरेपछि पार्टीका सहसंयोजक माधव कुमार नेपाल बिच्किएका छन् । शनिबार एमाले अध्यक्ष ओली र प्रचण्डले प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गर्दा आफूलाई कुनै जानकारी नै नदिइएर धोका दिएको भन्दै माधव नेपाल रुष्ट भएका हुन् ।

शनिबार ओली र प्रचण्डबीचसात प्रदेशमध्ये कोशी, बागमती, लुम्बिनीमा एमालेले नेतृत्व गर्ने र सुदूरपश्चिम र कर्णालीमा नेकपाले नेतृत्व गर्ने तीन बुँदे सहमति भएको थियो । मधेश र गण्डकीको हकमा भने अन्य दलसँग परामर्श गरेर निर्णय लिने भनिएको छ ।

ओली प्रचण्डको उक्त सहमतिमा आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट बनेका नेपालले आइतबार आफूपक्षीय नेताहरुसँग बानेश्वरको अर्याल होटेलमा छलफल गरेका छन् । उनले आफूलाई कुनै जानकारी नै नदिएर प्रचण्डले ओलीसँग सहमति गरेको भन्दै निर्ण प्रक्रिया प्रति असन्तुष्टि पोखेका थिए । उनले यसबारेमा प्रचण्डसँग भेट गरी छलफल गर्ने आफू निकट नेताहरुलाई जानकारी समेत गराएका छन् ।

पार्टीभित्र माधव नेपाल सुरुदेखि नै ओलीेसँग सहकार्य गर्न नहुने अडानमा थिए । उनले एमालेभित्रै ओलीको विकल्प खोज्न थालिएकाले सहकार्य गर्दा जनमानसमा गलत सन्देश जाने भन्दै प्रदेशमा कांग्रेससँग सहकार्य गर्नुपर्ने मत राख्दै आएका थिए । विगत एमाले विभाजनकालदेखि कटुता र पछिल्लो जेनजी विद्रोहमा देखिएको ओलीको भूमिकाले नेपाल कुनै पनि हालतमा ओलीसँग सहकार्य गर्न नहुने नेपालको अडान थियो ।

प्रचण्डले भने गत शनिबार नेपाललाई नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा माधव नेपाललाई पठाउँदै ओलीसँग छलफल मात्रै गर्ने जानकारी गराएर एकाएक एक्लै सहमति गरेका हुन् । पार्टीभित्र छलफल बिना हठात् ओलीसँगको तीन बुँदे सहमति बाहिरिएपछि नेपाललले आफूमाथि प्रचण्डबाट धोका भएको महशुस गर्दै रुष्ट बनेको नेकपाका एक नेताले बताए ।

ती नेताका अनुसार प्रचण्डले ओलीसँग छलफल मात्रै गर्ने भन्दै माधव नेपाललाई विश्वस्त तुल्याएर शनिबार ओली भेट्न गुन्डु पुगेका थिए । तर पार्टीभित्र संस्थागत रुपमा छलफल नै नगरेर अचानक लिखित सहमति गरेपछि नेपालको असन्तुष्टि चुलिएको हो ।

तर, प्रचण्ड पक्षीय नेताहरुले भने माधव नेपाललाई सहमति बारे जानकारी गराउन फोन सम्पर्क गर्न खोजिएको तर नेपालको फोन नउठेको भन्दै पन्छिन् खा्ेजेका छन् । ओली निवासबाटै प्रचण्डले माधव नेपालसँग सम्पर्क गर्ने प्रयास गरे पनि नेपालसँग सम्पर्क हुन नसकेको प्रचण्ड पक्षीय नेताहरुको दाबी छ । शनिबार पार्टीका नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकाले फोन नउठेको हुनसक्ने नेपालले आफू निकट नेताहरुलाई जानकारी गराएका छन् ।

यसअघि गत साउन २ गते प्रचण्ड श्रीलंका भ्रमणमा जाँदा प्रदेशमा सत्ता सहकार्यबारे एमालेसँग छलफल गर्ने जिम्मा उनै माधव नेपाललाई दिएका थिए । नेपालले सोही अनुसार एमाले अध्यक्ष ओलीसँग छलफलका लागि पार्टीका नेता प्रमेश हमाल र वर्षमान पुनलाई पठाएका थिए । उनीहरुको ओलीसँग छलफल भए पछि मात्रै एमाले नेकपाको सत्ता सहकार्यमा सहमतिको वातावरण तयार भएको थियो ।

शनिबार ओलीसँगको तीन बुँदे सहमतिमा आफू पक्षीय नेताहरु कसैलाई पनि सहभागी नगराइएपछि नेपाल पक्ष असन्तुष्ट बनेको हो । पछिल्लो समय एमालेसँग सहकार्य गर्न नेपाल सकारात्मक भए पनि निर्णायक समझदारी हुँदा आफू निकट नेताहरुलाई उपस्थित नगराएपछि मात्रै असन्तुष्ट बनेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्