सोसल मिडिया
युनिकोड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको छ ।
अर्थ मन्त्रालयले नेप्सेको रिक्त रहेको सीईओ नियुक्तिका लागि सोमबार सह–सचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । सोही समितिले मंगलबार सीईओ नियुक्तिका लागि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गरेको हो ।
समितिले आजको गोरखापत्रमा सूचना जारी गरेको छ । आवेदन दिने समय १५ दिन तोकिएको छ ।
नेप्सेको सीईओ चूडामणि चापागाईंले कार्यकाल सकिनुअघि गत २२ असारमा राजीनामा दिएका थिए । १९ चैत २०८१ मा नेप्सेको सीईओमा नियुक्त भएका चापागाईंले आफ्नो कार्यकालअगावै राजीनामा दिएपछि नेप्सेमा सीईओ रिक्त हुन पुगेको हो ।
नेप्सेको सीईओ बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्ष काम गरेकोसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
साउन २६ गते कार्यालय समयभित्र आवेदन दिने म्याद तोकिएको छ।