सोसल मिडिया
युनिकोड
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मोरङ इकाईका प्रमुख मिक्मार तामाङलाई स्रोत खुलाउन नसकेपछि मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार तीन दिनअघि प्रहरी नियन्त्रणमा आएका तामाङको साथबाट विराटनगर विमानस्थलमा स्रोत खुलाउन नसकेको अवस्थामा ६ लाख ६५ हजार रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।
मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार काठमाडौं जाने क्रममा तामाङले बोकेको कालो ब्याग एक्स-रे मेसिनमा राख्दा रकम देखिएको थियो । सो क्रममा प्रहरीले सोधपुछ गर्दा स्पष्ट कुरा आउन नसकेपछि नियन्त्रणमा लिएको उनले बताए । रकमबारे स्पष्ट खुलाउन नसकेपछि तामाङविरुद्ध हुण्डी कारोबारमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कट्वालले तामाङलाई पक्राउ गरी कार्यालय ल्याइसकेपछि मात्र उनी सरकारी कर्मचारी भएको परिचय खुलेको जानकारी दिए ।
बिहीबार अदालतबाट म्याद थप भएसँगै तामाङले बोकेको रकमबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । चुरे तराई मधेश संरक्षण विकास समिति अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई मोरङका प्रमुखसमेत रहेका तामाङ दोलखा भीमेश्वर नगरपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा तामाङको साथबाट १ हजार दरका ५ सय १५ थान र ५ सय दरका ३ सय थान नोट बरामद भएको थियो ।