लाइसेन्सका लागि अब जुनसुकै दर्तावाल चिकित्सकको स्वास्थ्य प्रमाणपत्रले मान्यता पाउने

सोमबार, साउन ४, २०८३

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य जाँचलाई थप सरल र पारदर्शी बनाउने नयाँ कदम चालेको छ ।

विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुलाई अनुरोध गरेको छ ।

विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा गत असार ३२ गते जारी परिपत्रमार्फत यो अनुरोध गरिएको हो ।

यसअघि माननीय मन्त्रिस्तरीय मिति २०८३ जेठ १३ गते भएको निर्णयानुसार नै यो नयाँ व्यवस्था लागू गर्न पत्राचार गरिएको विभागले जनाएको छ ।

वर्तमान व्यवस्थाका कारण सेवाग्राहीले अनावश्यक भीडभाड झेल्नुपर्ने, अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने र सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या सिर्जना भएकाले यो निर्णय लिइएको परिपत्रमा उल्लेख छ ।

नयाँ व्यवस्थाबाट सेवा प्रवाह थप सरल, पारदर्शी, एकरुपतायुक्त तथा सेवाग्राहीमैत्री हुने र स्वास्थ्य जाँच प्रणाली थप व्यवस्थित एवं मर्यादित बन्ने सङ्घीय सरकारको अपेक्षा छ ।

यसैबीच, यो व्यवस्थालाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नका लागि यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलसँग समन्वय अगाडि बढाएको छ ।

विभागले यही साउन १ गते काउन्सिललाई पत्राचार गर्दै काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरुको आधिकारिक विवरण माग गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्