सोसल मिडिया
युनिकोड
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका सबै निर्णयहरू अर्बपति र करोडपतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राज्यको गरिबमारा निर्णयका कारण गणेश नेपाली र उनीजस्ता गरिब नागरिकले मर्नुपर्ने अवस्था आएको बताएका हुन्।
नेता शाहीले गरिब, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भए पनि सरकारले उक्त व्यवहार देखाउन नसकेको बताए। उनले सरकारको नीति, नियम र निर्णय धनीहरूको पक्षमा मात्रै रहेको पनि बताए।
उनले भने,‘गणेश नेपालीको मृत्यु यो राज्यको नीतिको कारणले भयो। र, उहाँले आत्मदाह गर्नुभयो। म यो सम्मानित सदनमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूले यो विनम्र अपिल गर्न चाहन्छु– यो काठमाडौँ शहर अर्वपति र करोडपतिहरूको मात्रै हो? यो गरिब, दुःखी, श्रमिक र निमुखाहरुको शहर हो वा होइन?’
काठमाडौँमा गरिब दुःखी जनता बाँच्न नपाउने अवस्था वालेन्द्र शाह काठमाडौँ महानगरपालिकको मेयर बनेदेखि नै आएको उनले बताए।
उनले भने, ‘आज गरिब, दुःखी जनता यो सहरमा बाँच्न नपाउने भइसके– अघिल्लो पटक मेयर भएदेखि नै यो अवस्था आज सिर्जित भएको छ। सरकार कसलाई चाहिन्छ? सरकार अर्बपतिलाई चाहिँदैन र करोडपतिलाई पनि सरकार चाहिँदैन। उनीहरूलाई त्यति आवश्यक हुँदैन सरकारको। सरकार ती व्यक्तिलाई चाहिन्छ, जो गरिब छन्, निमुखा छन्। जो अपहेलित छन्, उसलाई सरकारको आवश्यक्ता छ। तर आज सरकार ठयाक्क उल्टो देखिन्छ।’