प्रधानमन्त्री वालेन्द्रको नाममा युवाले किटे दाह्रा, माईतिघरमा घन्काए मूर्दावादको नारा

शुक्रबार, असार २६, २०८३

हालका प्रधानमन्त्री वालेन्द्र साह मेयर हुँदाको काठमाडौँ महानगर प्रहरीको ज्यादतीका कारण आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि अन्योल सिर्जना भएको छ । राइडर २५ वर्षीय नेपालीकाे मोटरसाइकलमा काठमाडाै‌ं महानगर प्रहरीले ह्वील लक गरेपछि बिहीबार आत्मदाह प्रयास गरेका थिए ।

बिहीबार नै वीर अस्पतालमा भर्ना गरिएका उनको आज मध्याह्न उपचारका क्रममा निधन भएको हो । नेपालीको मृत्यु घटनाले सरकारको नागरिकलाई हेर्ने दृष्टिकोण, नगर प्रहरीको रवैयालगायत विषयमा आपत्ति व्यक्त भएको छ ।

सरकारको नेतृत्व गरिरहेको रास्वपाका सांसदहरूले समेत सरकार मानवीय नभएको भन्दै आपत्ति जनाएका छन् । सांसदहरू गणेश कार्की, रञ्जु दर्शना, पुकार बमसहितले राज्यलाई मानवीय बन्न सुझाएका छन् ।

नेपालीको निधनपछि आक्रोशित युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । ‘राज्य आतंक बन्द गर’, ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै प्रदर्शन गरेका हुन् । नेपालीको मृत्युपछि उनको शव उठाउने वा नउठाउने विषयमा पनि अन्योल बढेको छ ।

नेपालीको मृत्युपछि अस्पतालमा भीड बढेको छ । सोही कारण सयौं प्रहरी परिचालन गरिएको छ । जेन–जी अगुवाहरू रक्षा बम, तनुजा पाण्डेसहितले पनि राज्य अकर्मण्य भएको भन्दै आपत्ति जनाएका छन् ।

गणेशका श्रीमती र एक छोरी छन् । गणेश नै परिवारका सहारा थिए । उनकै निधन भएपछि परिवार थप संकटमा परेको छ । यसैले परिवारले राज्यले नै गणेशको परिवारको जिम्मा नलिएसम्म शव नउठाउने अडान लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्