सोसल मिडिया
युनिकोड
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको अप्रत्याशित घटनामा परी गम्भीर रूपमा जलन भएका मुगु सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने र थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एम्स) लैजाने प्रक्रिया अगाडि बढाइएको थियो।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेर चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थितिबारे प्रत्यक्ष जानकारी समेत लिएका थिए।
सुरुवातमा चिकित्सकहरूले दिएको सुझाव र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले बिरामीलाई हवाई उद्धार (एयर एम्बुलेन्स) मार्फत तत्काल भारत लैजान आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाएको थियो।
उनलाई अस्पतालबाट विमानस्थलसम्म सुरक्षित र कुनै अवरोधबिना छिटो पुर्याउन गृहमन्त्री गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरेका थिए भने नयाँ दिल्ली विमानस्थलबाट एम्स अस्पतालसम्म पुर्याउने सबै बन्दोबस्त समेत मिलाइसकिएको थियाे।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर बनेपछि अन्तिम समयमा आएर भारत लैजाने तयारी तत्कालका लागि स्थगित गरिएको छ। मुटुको धड्कन र रक्तचापमा उतारचढाव आएकाले यस्तो गम्भीर अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको झन् ठूलो जोखिम हुने चिकित्सकहरूले औंल्याएका छन्।
चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने सुझाव दिएपछि गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू गएरातिदेखि नै वीर अस्पतालमा ‘स्ट्यान्ड बाइ’ अवस्थामा निरन्तर खटिरहेका छन्।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। हाल वीर अस्पतालका वरिष्ठ चिकित्सकहरूको एक विशेष टोली उनको जीवन रक्षाका लागि अहोरात्र खटिएको छ।
अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेको छ। चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन विशेष औषधिहरू चलाएर निरन्तर निगरानी गरिरहेको छ।