भोजपुरे कार्की बने नेपाल सरकारको ३० औं मुख्यसचिव, २२ महिनामै पल्टाए पासा

बुधबार, असार २४, २०८३

नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन्। कार्की नेपाल सरकारको ३० औं मुख्यसचिव हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

२०८१ भदौ २० गते उनी सचिवमा बढुवा भएका थिए। कार्की सचिव बनेको २२ महिनामै मुख्य सचिव बनेका हुन्।

बालेन सरकार गठनलगत्तैको मन्त्रिपरिषदले तयार पारेको सय बुँदे कार्ययोजनाको ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ शीर्षकमा मन्त्रालयको संख्या घटाएर १७ कायम गर्ने उल्लेख थियो।

चैत २२ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको थियो। 

उक्त निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तत्कालीन सचिव कार्कीको नेतृत्वमा ६ सदस्यीय पुनर्संरचना व्यवस्थापन सचिवालय बनेको थियो। 

कार्की प्रधानमन्त्री कार्यालयमा बसेर कर्मचारी प्रशासन र सुशासनका विषयमा बालेन सरकारलाई सहयोग गरिरहेका थिए। कार्की भोजपुरका हुन् ।

२०२७ साल पुस २५ गते भोजपुरमा जन्मिएका कार्की २०५३ पुस ७ गतेबाट सरकारी सेवा सुरू गरेका थिए। २०७० चैतमा सहसचिव भएका कार्की २०८१ भदौं २० मा सचिवमा बढुवा भएका थिए।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्