मुख्यसचिवको सपना देखेर ३६ वर्षे प्रधानमन्त्रीलाई म्यासेज ठेल्ने ५१ वर्षे सचिव घर ठेलिए

बुधबार, असार २४, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन् । 

नेपाल सरकारका सचिव पुष्करले सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त (जगेडा) समूहमा रहेकै अवस्थामा उनी सेवाबाट बिदा भएका हुन् ।

पुष्कर २०७८ असार २४ गते सचिव पदमा बढुवा भएका थिए । निजामती सेवामा २०५३ माघ १७ गते बाट सुरु गरेका उनले सचिवका रूपमा अर्थ मन्त्रालय, राजस्व सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपराष्ट्रपतिको कार्यालय जस्ता महत्त्वपूर्ण निकायहरूमा जिम्मेवारी सम्हालेका थिए ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा उनले राजदूत नियुक्तिको आवेदनका विषयमा जानकारी माग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई एसएमएस पठाएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ समेत गरेको थियो । 

उक्त घटनापछि सरकारले उनलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानेको थियो र उनी कुनै जिम्मेवारीमा नफर्कीकनै अवकाशमा गएका हुन् ।

२०३१ साउन १३ गते जन्मिएका पुष्करले ५२ वर्ष नपुग्दै र ३० वर्षे सेवा अवधि पूरा नहुँदै सचिव पदबाट अवकाश पाएका हुन् ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्