‘कान सुन्नुहुन्छ कि हुन्न’ भनेपछि सभामुख भाउन्न, सांसद राजेन्द्रको बोलीमा खाँदियो ठेडी

बुधबार, असार २४, २०८३

नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई ‘कान सुन्नुहुन्छ कि हुन्न’ भन्ने प्रश्न गरेपछि संसदमा लफडा भएको छ । बुधबार प्रतिनिधिसभामा बोल्ने क्रममा एमाले सांसद राईले भने, ‘सम्माननीय सभामुख महोदय सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्‍यो तपाईं कान सुन्नुहन्छ कि हुन्न ? मेरो सभामुखलाई निवेदन हो ।’

सांसद राईले यति भनेपछि सभामुख अर्यालले रोके । ‘माननीय सदस्य मर्यादामा बस्नुहोला माननीय सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ समय दिदिनँ बस्नुस् । माननीय सदस्य बस्नुस् । माननीय सदस्यले सभामुखको अवहेलना गर्दै हुनुहुन्छ । सभाको अवहेलना गर्दै हुनहुन्छ बस्नुस्,’ सभामुख अर्यालले भने ।

त्यसपछि सभामुख अर्यालले सांसद पर्शुराम तामाङलाई समय दिए । त्यसपछि एमाले सांसदहरूले आसनबाट उठेर विरोध गरे । सभामुख अर्यालले राईले प्रयोग गरेको शब्दमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

एमाले सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अर्यालले संसद सचिवालयका कर्मचारीसँग कुराकानी गरेका थिए । यहीबीचमा रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला) ले समय माग गर्छिन् । सांसद ज्वालाले संसद बैठकको पहिलो दिनको दृश्य स्मरण गरिन् । उनले प्रतिपक्षी बेन्चका अनुभवी सांसदहरूले लोकतान्त्रिक चरित्र र बहस सिकाउने अपेक्षा गरेको भए पनि त्यसो हुन नसकेको भनाइ राखिन् ।

‘यहाँ कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ, भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने व्याख्या गरिन्छ । नियमावलीको नियम २१ को (ख) मा प्रस्ट लेखिएको छ । आँखा देख्नुहुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनपर्छ कि पर्दैन यो प्रश्न प्रतिपक्षी बेन्चका दीग्गज नेताहरूलाई प्रश्न गर्न चाहन्छु,’ उनले भनिन् ।

सांसद ज्वालाले सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिन् । नहटाउने हो भने प्रतिपक्षी सांसद कस्ता आए भनेर इतिहासलाई देखाउन राख्नुपर्ने तर्क उनको थियो ।

सभामुखले नियमावलीको नियम २१ को खण्ड (घ) तर्फ ध्यानाकर्षण गराए । उनले सांसद राईलाई शब्द सच्याउने समय दिए । समय पाएपछि सांसद राईले सभामुखको गरिमामय संसदमा आत्तिएका बताए । त्यसपछि सभामुख अर्यालले विषयमा प्रवेश गर्न ध्यानाकर्षण गराए ।

गरिमामय संसदमा आत्तिएर एउटा सदस्यले कुरा समयमा जुन व्यवहार गर्नभयो नि तपाईंले पाँच वर्ष सदन चलाउनहुन्न सभामुख महोदय । मैले बुझिसकेँ मैले खुट्टा हेरिसकेँ । किन हेरेँभन्दा पनि तपाईँले कुरा सुन्न परेन । नसुनिकन तपाईँले एकैचोटी भन्न मिल्छ ?,’ सांसद राईले भने ।

त्यसपछि सभामुख अर्यालले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्