सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् । मंगलबार (असार १६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले राज्य सञ्चालन संविधानबमोजिम नभएको र प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रियसभा सदस्य सिटौलाले देश हाल कसको नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको उनले उल्लेख गरे । नेपालमा प्रतिशोधको राजनीति धेरै नै भइरहेको भन्दै उनले यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने बताए ।
उनले विश्व राजनीतिको प्रभाव नेपालमा पनि रहेको र नराम्रो प्रभाव ज्यादा देखिएको धारणा राखे । राजनीतिक दलहरूका बीचमा अविश्वास दिनप्रतिदिन गहिरिँदै गएको भन्दै उनले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे ।
नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकासक्रममा संशोधन गरिनुपर्नेमा जोड दिए । तर, संशोधन गर्दा यसको मौलिक पक्षलाई जोगाउँदै कार्यान्वयनका क्रममा देखिएका त्रुटि सच्चाउनुपर्ने उनले बताए ।
हाल राज्यव्यवस्थालाई साँगुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने प्रश्न देखिएको उनले उल्लेख गरे । संघीयताको राम्रा पक्षलाई बचाएर र कमजोरी हटाएर नै अघि बढ्नुपर्ने उनले बताए ।