सांसदहरूलाई मोबाइलमा नघोरिन र आपसमा गफगाफ नगर्न सभामुखले गराए सचेत

सोमबार, असार १५, २०८३

सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई मोबाइलमा नघोरिन र आपसमा गफगाफ नगर्न सचेत गराएका छन् । सोमबार संघीय संसद सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सो कुरा बताएका हुन् । 

‘हतार नगरी, भित्र बस्दाखेरि साइड टक नगरी र मोबाइलमा धेरै अभ्यस्त नभई समय र पैसा खर्च गरेर आइसकेपछि केही सिकेर जाऔँ,’ अर्यालले भने, ‘यो दुई दिने सिकाइको अनुभूति आगामी प्रतिनिधिसभा बैठकमा सभामुखको हैसियतले मैले, संसद सचिवालयले र सबैभन्दा बढी तपाईंहरूका मतदाताले गर्न पाउन् । 

उनले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन समेत दिए । उद्घाटनको क्रममा उनले कार्यक्रममा सांसदहरूको न्यून र ढिलो उपस्थितिप्रति असन्तुष्टि व्यक्त गरे ।

‘हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक हौँ । आज कार्यक्रममा समयमै उपस्थिति हुनेदेखि हाम्रा हरेक गतिविधिलाई जनताले मूल्यांकन गरिरहनुभएको छ । जनताले गर्ने त्यो मूल्यांकनमा अब्बल नम्बर ल्याउन सांसदहरूबीच राम्रो कानुन बनाउने, राम्रो व्यवहार देखाउने र उत्कृष्ट प्रस्तुति दिने विषयमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने । 

नयाँ सांसदहरू देशको कानुन र विधिबारे जानकार भए पनि संघीय संसदको संसदीय प्रक्रियामा अभ्यस्त नभइसकेकाले यो सिकाइ आवश्यक रहेको सभामुख अर्यालले भने ।  

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्