‘आँ गर्दा अलंकार बुझ्ने’ मुख्यसचिव खोज्दै प्रधानमन्त्री वालेन्द्र, कसको पुग्ला योग्यता ?

सोमबार, असार १५, २०८३

दुई तिहाई मत आसपासको वर्तमान सरकार यतिबेला मुख्यसचिवको खोजीमा जुटेको छ। हालका मुख्यसचिव सुमनराज अर्याल असार २५ गते ५८ वर्ष पूरा भएर अवकाशमा जाँदैछन्। अर्यालपछि हुने मुख्यसचिवको कुण्डली केलाउन प्रधानमन्त्री वालेन्द्र स्वयम् लागेका छन्। 

कार्यसम्पादनमा अब्बल, आँ गर्दा अलंकार बुझ्ने र आफू प्रति उत्तरदायी मुख्यसचिवको खोजीमा रहेका प्रधानमन्त्रीले केही सम्भावित उम्मेदवारको क्षमतामाथि छड्के हानिसकेको उनको सचिवालयका सदस्यको भनाई छ। 

अहिले मुख्यसचिवको मुख्य प्रतिस्पर्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय किरणराज शर्मा र गोविन्दबहादुर कार्की, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल, ऊर्जा मन्त्रालयकी सचिव सरिता दवाडीलगायत रहेका छन्। यिनै मध्येका एक जना मुख्यसचिव बन्नेछन्। 

रास्वपाका एक हुल सांसदले भोजपुरका गोबिन्द कार्कीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव कुमार बेनको प्रदक्षिणा गरिसकेका छन्। उता, पर्वते किरणराज शर्माको पक्षमा खुल्नेले पनि फुक्नु पर्नेको कान फुकिसकेको बुझिएको छ। त्यस्तै गोरखाली गृह सचिव राजकुमार श्रेष्ठलाई गोरखाली गृहमन्त्री सुधन गुरुङ्गले आँखा झिम्क्याईसकेको बुझिएको छ। 

यता, ऊर्जाबाट नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएका सचिव चिरञ्जीवी चटौत ५८ वर्ष पूरा भएर आज सोमबारदेखि अनिवार्य अवकाशमा गएका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको अवकाशमा जाने साँझ-बिहान भइसकेको छ। सचिव बज्राचार्य असार १६ गते (भोलिबाट) अनिवार्य अवकाशमा जाँदैछिन्। विज्ञानमन्त्री महावीर पुनले अर्को सचिव खोज्न थालिसकेका छन्। 
त्यस्तै, निर्वाचन आयोगका सचिव मधुसुधन बुर्लाकोटी असार २० गते अनिवार्य अवकाशमा जान लागेका छन्। मुख्यसचिव अर्यालभन्दा अगाडि नै अवकाशमा जाने सूचीमा रहेका बुर्लाकोटी निर्वाचन आयोगबाटै घर जाने बाटो तय भइसकेको छ। 

मुख्यसचिव खान प्रधानमन्त्री बालेनलाई पगाल्न म्यासेज धकेलेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडाका थन्क्याएका सचिव कृष्णहरि पुष्कर कर्ण पनि असार २३ गते घर जाँदैछन्। 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्