हजार जिब्रा भएको शेषनागलाई समेत वर्णन गर्न आपत् पर्ने गरिको सम्पत्ति बिष्णुले कहाँबाट थुपारे ?

बुधबार, असार १०, २०८३

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका पटके पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएको छ । सुर्खेतमा समातेर काठमाण्डौ ल्याईएका पौडेलमाथि अनुसन्धान गर्न सोमबारबाट लागुहुने गरि विशेष अदालतले पहिलो किस्तामा ७ दिनको म्याद दिएको छ । जुन म्याद पटक-पटक थपिने निश्चित छ ।

कुनै बेला रुपन्देहीको रामापुरमा २ बिगाहा र नवलपरासीको भुताहामा ८ कठ्ठा जग्गा हुँदाहुँदै विष्णु पौडेलको परिवारले बुटवलको दीपनगरस्थित सुकुम्बासी बस्तीको जग्गा कब्जा गर्यो । 

र, सजिलै पौडेलका छोरा नवीनले सुकम्बासी समस्या समाधान आयोगबाट दीपनगरको घरजग्गाको धनीपूर्जा प्राप्त गरे । अर्थात्, प्रशस्त जग्गा हुँदाहुँदै नक्कली सुकुम्बासी बनेर वास्तविक सुकुम्बासीलाई जग्गाबाट वन्चित गरियो । 

नक्कली सुकम्बासी बनेर पाएको जग्गा र त्यहाँ बनेको घर बेचेर पौडेलले कलंकीमा जग्गा जमिन जोडे । पछि त्यही कलंकीको जग्गा बेचेर भैंसेपाटी आवास क्षेत्रमा ९ आना १ पैसा २ दाम जग्गा किनेर आलिशान घर बनाइयो । 

तर, भदौ २४ गते देशै भरि सरकारी र निजी भवनमा आगजनी गरियो, दुखका साथ भन्नुपर्छ, पौडेलको भैंसेपाटीस्थित घर पनि तोडफोड र आगजनीमा पर्यो । 

अहिले, त्यही आवास क्षेत्रमा एउटा नयाँ र पुरानो भन्दा बढी आलिशान घरमा पौडेल बस्छन् । प्रश्न उठ्छ- नयाँ घर उनलाई कसले दियो ?

यो त, सानातिना दुखले होइन, सुकुम्बासी बनेर आर्जेको घर र जग्गा थियो । त्यसो भए रामापुर र भुताहाको जग्गा के भयो त ? अब अनुसन्धानले त्यसको केस्रा केस्रा केलाउने छ ।
 
रामापुरमा रहेको सगोलको जग्गा अंशबन्डा गरेर पाएको जग्गाको मूल्यमा भुताहामा आफ्नी श्रीमतीको नाममा उनले ८ कठ्ठा जग्गा किनिदिएका थिए, त्यसैलाई बेचेर बालुवाटारको (ललिता निवास काण्ड) कित्ता नम्बर ३०९ र ३१५ मा रहेको जम्मा ८ आना जग्गा खरिद गरियो, यो २०६१ सालको कुरा हो । भुताहा र बालुवाटारको जग्गाको मूल्य एउटै रहेको देखाइएको छ, जुन सम्भव छैन ।
 
कसरी आयो उनको र परिवारको नाममा अर्बौं सम्पत्ति ? यो अलि पुरानो तथ्यांक हो, अहिले केही थपघट भएको हुन सक्छ । 

अहिले ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा छोरा नवीन पौडेलका नाममा ९ आना १ पैसा २ दाम जग्गा र त्यसमा निर्माण भएको एउटा घर (जुन अहिले बस्न योग्य छैन)। 

बालुवाटारमा छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा (ललितानिवास काण्ड पछि जग्गा फिर्ता गरेर कारवाहीबाट बच्ने पौडेलको प्रयासस्वरूप अहिले त्यो छैन ।

१६ तोला सुन (अहिले थपघट भएको हुन सक्ने) । छोरा र परिवारको नाममा विभिन्न बैंकहरूमा करोडौं निक्षेप । बुहारी प्रमिता अधिकारीका नाममा कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा लाखौँ डलर रहेको (अस्ट्रेलियास्थित नेपाली दूतावासमा कार्यरत रहँदा) । त्यसैगरी छोराकै नाममा विभिन्न बैंक र इन्स्योरेन्स अनि ब्रोकर कम्पनीमा लाखौँ कित्ता सेयर । अहिले बुहारी अमेरिकामा छिन् । 

स्याङ्जाबाट बसाइसराई गरेर नवलपरासी पुगेपछि उनको नाममा आएको ८ कठ्ठा जमिन नै उनको वास्तविक जमिन हो । उनको सम्पत्तिको अर्को स्रोत नक्कली सुकुम्बासी बनेर पैदा भएको हो । 

त्यसपछि उनको आर्थिक स्थिति ह्वात्तै यसरी बढ्नुको अरू कुनै कारण देखिन्न, बरू राजनीतिका नाममा भएको आर्थिक लेनदेन नै हो । बालेन चढेको गाडीका साहु मालपानीसँग पनि उनको घनिभूत सम्बन्ध नै छ । र, उनलाई सघाउने यस्ता मालपानी दर्जनौंको संख्यामा छन् । यसबारे सिरिजमा लेख्दा पनि बरू मसी सकिने, काण्ड नसकिने अवस्था छ । 

उनले एकपटक पनि ललितानिवासको जग्गा हडपेकोमा माफी मागेका छैनन् । भुताहाको जग्गा केही वर्षमै करोडौं पर्ने कसरी भयो ? त्यसको जवाफ दिएका छैनन् । अष्ट्रेलियामा रहेका छोरा–बुहारीको आम्दानीबाट नेपालमा जोडिएको सम्पत्तिको स्रोत र कर विवरण सार्वजनिक गरेका छैनन् । 

यसबाहेक अर्कैको नाममा दशौँ बिगाहा पनि जोडेको भन्ने कुरा आइराखेको छ, जुन तत्काल छानबिनयोग्य छ । एमाले भित्र मारवाडी नेताका रूपमा चिनिने पौडेल च्याँखे थापेर पद हत्याउन खप्पीस नेता हुन् । पाँच पटक अर्थमन्त्री एक पटक उर्जामन्त्री त्यस्तै एकै पटक रक्षामन्त्री समेत गरी आठौं पटक मन्त्री र पाँचौ पटक सांसद बनेका उनी बल्ल फेला परेका छन् ।

उनको दाउपेच र सम्पत्तिको बयान गर्न हजार जिब्रा भएको शेषनागलाई हम्मे पर्ने उनलाई चिन्ने जान्नेले बताउन थालेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १०:४३
प्रतिक्रिया दिनुहोस्