राहदानी छपाइ ठेक्कामा कैफियत गर्ने को-को हुन् ? १८ जनाविरुद्ध मुद्दा

सोमबार, असार ८, २०८३

राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल,  शत्रुधनप्रसाद शर्मा पोखरेल, रविन्द्रराज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाईलगायतलाई मुद्दा दायर गरिएको हो। 

यस प्रकरणमा झन्डै ८ अर्ब रूपैयाँको हिनामिना गरिएको अख्तियारको निष्कर्ष छ। गत वर्ष पासपोर्ट छपाइको लागि दुईवटा प्याकेज बनाएर दिइएको ठेक्कामा १ अर्ब ५५ करोडको ठेक्का म्युहलबाउर आइडी सर्भिस र ६ अर्ब ५५ करोडको ठेक्का भेरिडासले पाएका थिए।

म्युहलबाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापा हुन्।

यी दुई कम्पनीलाई राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लाग्दै आएको छ। मनेन्द्र मल्ल एमाले निकट र सिद्धार्थ थापा कांग्रेस निकट भएका कारण गत वर्ष एमाले र कांग्रेसको संयुक्त सरकार भएको बेलामा ठेक्का बाँडफाँट भएको चर्चा हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्