पासपोर्ट छपाइ काण्डमा थप दुई जना समातिए, पूर्व प्रधानमन्त्रीका नाती फरार 

बुधबार, असार ३, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको अनियमितताको छानबिन गर्ने क्रममा दुईजनालाई नियन्त्रणमा लिएको छ। राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई आयोगले बुधबार पक्राउ गरेको हो। उनीहरूलाई तीन दिन थुनामा राख्नसमेत विशेष अदालतले म्याद दिएको आयोगका एक अधिकारीले बताए। 

आयोगले सोमबार यस मुद्दामा विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। विभागका अन्य कर्मचारीलाई तारेखमा राखिएको छ। सार्वजनिक खरिद नियमावली मिचेर विभागले ६४ लाख पासपोर्ट छपाइको जिम्मा दुई जर्मन कम्पनीलाई दिएको विषयमा छानबिन अघि बढेको हो।

अर्काे जर्मन कम्पनी भेरिडासका नेपाल प्रतिनिधि सिद्धार्थ थापा भने फरार भएका छन्। उनलाई पक्राउ गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको छ। भेरिडासले ६ अर्ब ११ करोड तथा म्युहलबाउरले एक अर्ब ५५ करोडको ठेक्का पाएका थिए। थापा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका नाती र राष्ट्रियसभाका सांसद सुनिल थापाका छोरा हुन। 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १४:०९
प्रतिक्रिया दिनुहोस्