सोसल मिडिया
युनिकोड
सरकारी कर्मचारीहरू लामो बिदा लिन्छन्, अनि हराउँछन् । राष्ट्रिय किताबखानाको अभिलेख अनुसार, तलबी बिदा, बेतलबी बिदा, असाधरण बिदा गरी कुल ७ हजार ५१ जना कर्मचारीले बिदा लिएका छन् ।
२०४७ फागुन २० गतेदेखि हालसम्म विदा उपयोग गर्ने कर्मचारीहरूको विवरण अध्ययन गर्दा ठुलो संख्यामा कर्मचारीहरूको ‘प्रशासनिक चक्र’ ठप्प भएको पाइएको हो । कर्मचारीहरूले स्वीकृत गराएको बिदाको अवधि सकिएको देखिन्छ । तर उनीहरू जागीरको ‘नियमित चक्र’मा देखिँदैनन् ।
किताबखानाको रेकर्ड अनुसार, २०४७ फागुन २० देखि हालसम्म विभिन्न प्रकारका बिदा बस्ने कर्मचारीको कुल संख्या ७ हजार ५१ जना छन् । जसमध्ये हाल प्रचलित कानुनबमोजिम वास्तविक रूपमा बिदामा रहेका कर्मचारीहरूको संख्या ९ सय ९३ जना मात्रै रहेको किताबखानाले जनाएको छ । किताबखानाले प्राविधिक विश्लेषण गर्दा गम्भीर लापरबाही र त्रुटि भएको देखाउँछ ।
प्रणालीमा देखिएको उक्त संख्यामध्ये संघतर्फ ६ हजार २३४ जना छन् भने प्रदेशतर्फ १ हजार २ सय २१ जना कर्मचारी छन् । जसमध्ये ५ सय २९ जना कर्मचारी सेवामा फर्किए वा फर्किएनन् भन्ने अभिलेख नै छैन, यो संख्या संघतर्फको हो ।
“बिदा लिएको, तर बिदाको अवधि पनि कुनै प्रक्रियामा कर्मचारी नआएको पाइयो । त्यसरी बिदा लिएका कर्मचारीको सरुवा, बढुवाजस्ता क्रियाकलाप नै देखिएन” निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले भने ।
उनीहरूका विषयमा मन्त्रालयहरूलाई सुक्ष्म अध्ययन गर्न लगाएको उनले बताए । बिदामा भएकाहरूमध्ये सबैभन्दा बढी कर्मचारी अध्ययन बिदामा रहेको उनले बताए । “अध्ययन बिदामा रहेकाहरू कोही विदेशमा छन् । कोहीले राजीनामा दिएका छन् । कोही काममा फर्किएका पनि हुन सक्छन् तर अद्यावधिक छैनन्” महानिर्देशक पोखरेलले भने ।
‘इन्याक्टिभ’ कर्मचारीको सुक्ष्म अध्ययन हुँदै
राष्ट्रिय किताबखानाले स्वीकृत बिदा सकिँदा पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीहरूलाई ‘इन्याक्टिभ’ सूचीमा राख्दै छानबिन सुरु गरेको छ ।
संघतर्फका ६ हजार २ सय ३४ कर्मचारीहरूको विवरणलाई प्राविधिक रूपमा विश्लेषण गरेर ५ हजार २९ जना कर्मचारीको अवस्था शंकास्पद देखिएको किताबखानाले जनाएको छ ।
कर्मचारीहरूको पदस्थापन, सरुवा, बढुवा वा स्तरवृद्धि जस्ता कुनै पनि महत्वपूर्ण प्रशासनिक घटना रेकर्ड भएका छैनन् । बिदा पछि उनीहरू सेवामा फर्किए/नफर्किएको वा कहाँ छन् भन्ने कुरा सरकारी प्रणालीमा ‘एक्टिभ’ देखिँदैन ।
यसकै आधारमा राष्ट्रिय किताबखानाले सम्बन्धित मन्त्रालयहरूलाई ‘विशेष छानबिन गर्नू’ भनेको हो ।
विस्तृत अध्ययन गर्नुपर्ने देखिएका ५२९ जना ‘निष्क्रिय’ कर्मचारीहरूमध्ये सबैभन्दा नाजुक अवस्था स्वास्थ्य मन्त्रालयको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत मात्रै २८७ जना कर्मचारीको विवरण ‘इन्याक्टिभ’ छ, जुन कुल निस्क्रिय संख्याको आधाभन्दा बढी हो । त्यस्तै कृषि मन्त्रालयमा ४२, वन मन्त्रालयमा ३७ र ऊर्जा मन्त्रालयमा २९ जना कर्मचारी बिदा सकिएपछि पनि प्रणालीमा बेपत्ता छन् ।
राष्ट्रिय किताबखानाले उल्लिखित सबै कर्मचारीहरूको नाम–नामेसी (नामसहितको विवरण) सम्बन्धित मन्त्रालयहरूमा पठाई यथार्थ छानबिन गर्न र विवरण सच्याएर पठाउन पत्राचार गरिसकेको छ ।
सबै मन्त्रालयहरूबाट विवरण आउने क्रम जारी रहेको किताबखानाले जनाएको छ । प्राप्त विवरणहरूका आधारमा (जेठ २९ गते शुक्रबार) अबेरसम्ममा ५०४ वटा विवरणहरू प्रणालीमा अपडेट (सच्याउने कार्य) भइसकेको छ । सरकारी सेवामा बिदा लिँदै विदेशिने वा काममा नफर्कने तर प्रणालीमा ‘अपडेट’ नहुने प्रवृत्ति रोक्न यो छानबिनसँगै कडाइ गर्ने सरकारी नीति छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसारका अनुसार, सरकारले कर्मचारीको हालको अवस्थाबारे ‘अपडेट’ लिइरहेको छ । मन्त्रालयका सूचना अधिमकारी विवेक घिमिरेका अनुसार “किताबखानाले सबै मन्त्रालयसँग कर्मचारीहरू कति बिदामा छन् भन्ने जानकारी दिएको थियो, सबै मन्त्रालयहरूले दिएको विवरण नै किताब खानाले निकालेको हो ।”
लामो समयदेखि मन्त्रालयहरूले आफूमातहतका कर्मचारी कति विदामा छन् र कति फर्किए भन्ने विवरण नबुझाउँदा यति धेरै संख्या देखिएको हुनसक्ने उनको आंशका छ । साथै उनले स्वीकृत बिदा सकिए पनि काममा नफर्केकाहरूको विवरण निकाल्ने तयारी रहेको जानकारी दिए ।
ऐनमा के छ ?
निजामती सेवा ऐन र निजामती सेवा नियमावलीअनुसार कर्मचारीले तीन महिनादेखि ५ वर्षसम्म अध्ययन बिदा पाउने नियम छ । अध्ययन पूरा भएपछि सेवामा फर्किने वाचा तथा कबुल गराइएको हुन्छ ।
निजामती सेवा ऐनको ४० ‘ग’ मा अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि तोकिएको छ । जसमा तीन महिनासम्म बिदामा बसेमा फर्किएर एक वर्ष, तीन महिनादेखि ६ महिनासम्म बिदामा बसेमा डेढ वर्ष, ६ महिनादेखि ९ महिनासम्म बिदामा बस्नेले फर्किएर दुई वर्ष सेवा गर्नुपर्ने भनिएको छ ।
त्यसैगरी ९ महिनादेखि एक वर्षसम्म तीन वर्ष, एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष, दुई वर्षदेखि तीन वर्षसम्म पाँच वर्ष, तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष र चार वर्षदेखि पाँच वर्षसम्म बिदामा बसेमा फर्किएर आठ वर्ष सेवा गर्नुपर्ने भनिएको छ ।
तर, हालसम्म त्यसरी कबुल गरेर बिदामा गएका कर्मचारीमध्ये ५ सय २९ जना कर्मचारी फर्किएको नपाइएको हो । ‘‘निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब, भत्ता निजले प्राप्त गरेको छात्रवृत्ति रकम तथा कबुलियतमा उललेख भएका अन्य रकमसमेत तोकिएको अवधिभित्र नबुझाएमा सरकारी बाँकीसरह असुलउपर गरिने छ,’’ निजामती सेवा ऐनको ४० ‘घ’ मा उल्लेख छ ।
निजामती नियमावलीको नियम ६१ मा अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक ६ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाणसहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती किताबखानामा पठाउनुपर्ने प्रावधान छ ।
किताबखानाका महानिर्देशक पोखरेल भन्छन्, ‘‘तर कर्मचारीले प्रगति विवरण किताबखानमा पठाउँदैनन् ।’’
त्यसैगरी, नियम ६२ को ‘क’ मा बेतलबी बिदाको व्यवस्था छ । यो नियमअनुसार एकै पटक वा पटक–पटक गरी ५ वर्षसम्म बिदा बस्न पाउने भनिएको छ ।