सोसल मिडिया
युनिकोड
अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा शिक्षकहरूको तलबसुविधा वृद्धि अतिरिक्त लाभ नभई विगत चार वर्षको मुद्रास्फीतिको समायोजन मात्र भएको बताएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले चार वर्षदेखि सरकारी कर्मचारीको तलबसुविधा नबढेको उल्लेख गर्दै १७.३ प्रतिशतको वृद्धि पनि मुद्रास्फीतिको प्रभाव समेट्ने उद्देश्यले गरिएको बताए।
अर्थमन्त्री वाग्लेले कर्मचारी मात्र नभई झण्डै ९० हजार नेपाली सेना, ९० हजार नेपाल प्रहरी, ४० हजार सशस्त्र प्रहरी बल तथा एक लाखभन्दा बढी शिक्षकलाई समेत उक्त व्यवस्थाले समेटेको बताए। उनका अनुसार राज्यको तलब तथा पारिश्रमिक (वेज बिल) दायित्व अत्यन्त ठूलो भएकाले जिम्मेवारीपूर्वक निर्णय गर्नुपर्ने अवस्था रहेको थियो।
उनले पेन्सन प्राप्त गर्नेहरूलाई समेत राहत दिने उद्देश्यले तलबतर्फ १ प्रतिशत र भत्तातर्फ थप १ प्रतिशत वृद्धि गरिएको जानकारी दिए। महँगी भत्ताअन्तर्गत मासिक ५ हजार रुपैयाँको व्यवस्थालाई निरन्तरता दिइएको बताए।
अर्थमन्त्री वाग्लेले तलबसुविधा वृद्धिसँगै राज्यको वित्तीय दायित्व उल्लेखनीय रूपमा बढेको स्वीकार गर्दै आगामी वर्षहरूमा मितव्ययिता (अस्टेरिटी) कार्यक्रम, नयाँ दरबन्दी स्थगन, प्रशासनिक सुधार तथा विभिन्न खर्च कटौतीमार्फत बचत निकाल्ने योजना रहेको बताए।
उनले यस्ता सुधारात्मक कार्यक्रमबाट आगामी तीन वर्षभित्र आवश्यक बचत जुटाई बढेको दायित्व सन्तुलनमा ल्याइने अपेक्षा सरकारको रहेको उल्लेख गरे।
सांसदहरूले उठाएका राहत शिक्षकसम्बन्धी सुझावहरूबारे अध्ययन गरिने भए पनि चालु आर्थिक वर्षमा त्यस्ता सुविधा थप वृद्धि गर्न नसकिएको अर्थमन्त्री वाग्लेले बताए।