राज्यको आँखा छलेर कुत असुल्ने कुमार र टिकालाई दुई वर्षे कोर्रा 

बुधबार, जेठ २७, २०८३

राज्यको आँखा छलेर कुत असुल्ने भक्तपुर मालपोतका तत्कालीन प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनका सहयोगी राउत समेत संगै घानमा परेका हुन्। 

विशेष अदालतले उनीहरूलाई जनही २/२ वर्ष कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ। एक साताअघि भएको फैसलामा बिशेष अदालतले बुधबार सजाय निर्धारण गरेको हो। उनीहरुलाई अदालतले ५९ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न समेत भनेको छ। 

चाँगुनारायणमा रहेको १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टाका लागि उनीहरूले घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरी २८ साउन २०८२ मा मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोषी ठहर गरी सजाय तोकेको हो। 

सोही मुद्दामा अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा मुद्दा खेपेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङलाई भने विशेष अदालतले सफाइ दिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्