दुई तिहाई नजिकको शक्तिशाली सरकारका मन्त्रीलाई नागरिकले किन लगाए धारे हात ?

आइतबार, जेठ २४, २०८३

दुई तिहाई नजिकको शक्तिशाली सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल शनिवार निर्माणाधीन कमला पुलको निरीक्षण गर्न पुग्दा स्थानीयको घेराउमा परे छन् । 

पूर्व–पश्चिम यात्राका क्रममा कमला पुलको अवस्था बुझ्न पुगेका मन्त्री लम्सालसँग प्रतिनिधिसभा सदस्य बब्लु गुप्तासहितको टोली थियो । वर्षौंदेखि पुल निर्माणको ढिलासुस्तीले सास्ती खेपिरहेका स्थानीयले ठोस प्रतिबद्धता मागेका थिए ।

बजेटमा प्राथमिकता नपाएपछि आक्रोशित स्थानीयले मन्त्रीको टोलीलाई घेरेको हो । मन्त्री सवार गाडी रोकेर उनीहरूले ‘पुल कहिले बन्ने ?’ भन्दै नारावाजी गरेका थिए ।

निर्माण कम्पनी लुम्बिनी बिल्डर्स जेभीका प्रतिनिधिले १५ दिनभित्र आवतजावत गर्न मिल्ने गरी पुल सञ्चालनमा ल्याउने आश्वासन दिएपछि मात्र स्थानीयले टोलीलाई जान दिएको थियो । ४ सय ७० मिटर लामो यो पुल २०६८ मङ्सिरमा २४ करोड ९१ लाखमा ठेक्का लागेको थियो ।

पप्पु–लुम्बिनी जेभीलाई ठेक्का खोसिएर २०७६ मा लुम्बिनी बिल्डर्सलाई दिइए पनि २०७८ असारमा बाढीले पुल भासिएपछि पुनर्निर्माण सुरु भएको थियो । पाँच वर्ष बित्दा पनि काम पूरा नहुँदा स्थानीय आक्रोशित छन् । डिजाइनमै त्रुटि रहेको आरोप छ भने अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।

स्थानीयले पुरानो संरचना सुधार्नेभन्दा नयाँ डिजाइनसहित नयाँ पुल निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् । आश्वासनमात्र नभई काम चाहिने भन्दै उनीहरूले अब कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्