ओलीले एमालेलाई बनाएको ‘पेवा’ खोस्न सबैको मिल्यो मत, ओलीले के गर्छन् अब ?

आइतबार, जेठ १०, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै सारथीबाट घेराबन्दीमा परेपछि संकट थपिएको छ । अन्ततः ओलीका ‘दाहिने हात’ मानिने महासचिव शंकर पोखरेलले पनि साथ छाडेका छन् । 

पोखरेलले शनिबार अध्यक्ष ओली निवास गुन्डुमा बसेको पार्टी सचिवालय बैठकमा अब यथास्थितिमा एमाले अघि बढ्न नसक्ने बताउँदै आफ्नो ‘पोजिसन’ स्पष्ट गरेका हुन् । 

महासचिव पोखरेलले वर्तमान असहज परिस्थितिमा अहिलेकै शैलीले अघि बढ्न नसक्ने बताउँदै पार्टीमा व्यापक सुधारको आवश्यकता औल्याएका थिए । 

बैठकमा सहभागी एमालेका एक नेताका अनुसार महासचिव पोखरेलले यही स्थितिमा पार्टी अब अघि बढ्न नसक्ने धारणा बैठकमा राखेका थिए । महासचिव पोखरेलले पार्टी पुनर्गठनको पक्षमा जोड दिएका छन् । 

‘‘यही शैलीमा पार्टी अघि बढ्न सक्दैन, गम्भीर आत्मसमीक्षा जरुरी छ । पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो भन्ने उहाँ (महासचिव) को सार थियो,” बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘‘यथास्थितिमा अघि बढ्न सकिँदैन भन्ने कुरा आएको छ । अध्यक्षप्रति महासचिव कमरेडको पनि असन्तुष्टीभाव बुझ्न सकिन्थ्यो । मार्गप्रशस्त गर्नुपर्ने स्प्रिटमा भनाइ आएको छ ।’’ 

उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकमा तीन उपमहासचिव र पाँचजना सचिवहरूले पनि धारणा राखेका थिए । अब चारजनाले बोल्न बाँकी छ । आज बिहान साढे ११ बजेबाट सुरु हुने बैठकमा बाँकी रहेका चारजना सचिवले धारणा राख्ने उनले बताए ।

बैठकमा एमाले उपाध्यक्षहरुले पनि नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखिसकेका छन् । 

ओलीलाई पहिलो कार्यकालदेखि नै साथ र सहयोग दिँदै आएका एमाले उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि मार्गप्रशस्त गर्न उपयुक्त हुने भन्दै ओलीलाई सुझाएका छन् । 

‘‘पार्टी पुनर्गठनको ढोका खोल्ने काम अध्यक्षबाट सुरु गरौँ । हामीले पनि आ–आफ्नो जिम्मेवारीको समीक्षा गरौं र पार्टी पुनर्गठनको ढोका खोल्न तयार होऔंँ,’’ उपाध्यक्ष गुरुङले भनेका थिए । 

यस्तै, उपाध्यक्ष गोकर्ण विष्ट र रघुजी पन्तले पनि अध्यक्ष केपी ओलीले नैतिक जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । उनीहरु पनि विपक्षमा उभिएपछि ओली थप संकटको डिलमा पुगेका हुन् । 

यता, एमालेका उपमहासचिव योगेश भट्टराईले त प्रश्ट रुपले अध्यक्ष ओलीले राजीनामा दिनु नै समाधानको विकल्प रहेको बताइसकेका छन् ।भट्टराईसँगै एमालेका बहुमत उपमहासचिवहरू पनि ओलीले मार्गप्रशस्त गरेर सहजीकरण गर्नुपर्ने पक्षमा उभिएका छन् । 

यता, नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि एमाले पार्टी केपी शर्मा ओलीको ‘पेवा नभएको’ बताएकी छिन् । 

गुन्डु बैठककै बीचमा शाक्यले फेसबुकमार्फत ओलीप्रति कडा टिप्पणी गरेकी थिइन् ।  उनले ओलीको घमण्ड र गुटगत सोच उस्तै रहेको बताएकी छन् । साथै, एमाले ‘केपी ओली गुटको कम्पनी’ नभएको दाबी समेत गरेकी छन् । 

ओलीले तीन कार्यकाल पार्टीको नेतृत्व गरिसकेका कारण यतिबेला कार्यकर्ताको भावना बुझ्न उनको आग्रह छ ।  युवापुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्न एमाले नेतृ शाक्यले ओलीलाई अनुरोध समेत गरेकी छन् । 

‘‘अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु । बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले,’’ उनले भनेकी छन्, ‘‘यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईंको गुटको कम्पनी पनि होइन । त्यसैले, कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ ।’’ 

बैठकमा सहभागी नेताका अनुसार सचिवालय बैठकको बहस निर्णायक मोडमा प्रवेश गरेको छ ।  शुक्रबार र शनिबारको बैठकले एमालेमा ध्रुवीकरण तीव्र भएको संकेत मिलेको छ ।  माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र नेता महेश बस्नेतले भने ओलीको खुलेर बचाउमा उत्रिएका छन् । 

आफु निकटबाटै मार्गप्रशस्त गर्न सुझाव र दबाबपछि अध्यक्ष ओली बैठकमा आक्रोशित बनेका थिए ।  ओलीले बैठकमा विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको बताएका थिए ।  बैठकपछि नेता लेखराज भट्टले उपाध्यक्षहरूबाट स्पष्टसँग विचार राखेको जानकारी सञ्चारकर्मीलाई दिएका थिए । 

उनले सचिवालयमा पहिलोपल्ट छलफल लामो चलेको समेत बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १०:१८
प्रतिक्रिया दिनुहोस्