सोसल मिडिया
युनिकोड
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएलगत्तै प्रधानन्यायाधीश पदका लागि डा.मनोज शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ र नियुक्ति लिइ कार्यभार समालिसकेका छन् । शर्मा भए पनि उनको असली थर भने लामिछाने हो।
संवैधानिक परिषदको सिफारिसपछि मंगलबार (जेठ ५) डा.शर्माको संसदीय सुनुवाइ भएको थियो । डा.शर्मा २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मेका थिए । उनका पितापुर्खा चाँही जोरपाटीको आरुबारीका हुन्। अहिले शर्मा पनि आरूबारीमै बस्दै आएका छन्।
उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । शर्माले नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । साथै, त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।
कानुन व्यवसायीबाट न्यायको क्षेत्रमा प्रवेश गरेका डा.शर्माले २०७० साल जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए ।
नयाँ संविधान जारी हुँदा अतिरिक्त न्यायाधीशको व्यवस्था हटाइएपछि शर्मासहित २८ जना न्यायाधीश पदमुक्त भएका थिए ।
त्यसपछि वकालतमै फर्किएका शर्मालाई तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको कार्यकालमा पुनः सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो ।
डा.शर्मा प्रधानन्यायाधीश पदमा २०८९ असार ४ गते सम्म ६ वर्ष बर्ष रहने छन् । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गत चैत १८ गतेदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
न्याय परिषद्ले गत फागुन २६ गते प्रधानन्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशका लागि परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । उक्त नाम मध्येबाट संवैधानिक परिषदले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा मनोजले अब ६ वर्ष सर्वोच्च अदालत हाँक्ने छन्।