श्रम मन्त्रालयका कर्मचारीका नयाँ उर्दी, के-के लगाईयो लगाम ?

मंगलबार, जेठ ५, २०८३

युवा, श्रम तथा रोजगार मन्त्रालयले मातहतका कर्मचारीका निम्ति नयाँ आचारसंहिता लागु गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी उक्त आचारसंहिताबाट कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागु गरिएको मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ । कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।

पद एवं अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी साधनस्रोत निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ ।

आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था समेत स्पष्ट गरेको छ । कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना, तोकिएको पोसाक प्रयोग र सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ ।

साथै, सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०९:४२
प्रतिक्रिया दिनुहोस्