सोसल मिडिया
युनिकोड
सम्पत्ति छानविन आयोगले एक महिनाभित्रमा सम्पत्ति विवरण दाखिला गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
बालेन शाह नेतृत्त्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ यही वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो।
आयोगले केशरमहलमा कार्यालय स्थापना गरेर कामसमेत सुरु गरेको छ।
आयोगलाई पहिलो चरणमा आर्थिक वर्ष २०६२/०६३ देखि आर्थिक वर्ष २०८२/०८३ चैत सम्मको अवधिमा सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही अवकाश भइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी तथा निजहरुका परिवारसमेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन र छानविन गरी प्रतिवेदन पेश गर्ने कार्यादेश आयोगे पाएको छ।
आयोगले बिहीबार जारी गरेको सूचनामा अबको एक महिनाभित्र आयोगमा आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत् सम्पत्ति विवरण बुझाउन भनिएको छ।
जानीजानी अपूर्ण वा झुट्टा व्यहोराको सम्पत्ति विवरण भरी बुझाउने वा तोकिएको अवधिभित्र सम्पत्ति विवरण नै नबुझाउनेहरुको हकमा कानुन बमोजिम हुने चेतावनीसमेत आयोगले दिएको छ।