वैदेशिक रोजगार विभागका उपसचिव टीकाराम ढकाल सहितलाई अख्तियारले हाल्यो मुद्दा

बुधबार, वैशाख ३०, २०८३

वैदेशिक रोजगार विभागका निर्देशक उपसचिव टीकाराम ढकाल सहित चारजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरसँग सम्बन्धित पदाधिकारी तथा कर्मचारीविरुद्ध करिब ३ करोड रुपैयाँ बराबरको राजस्व अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार सटर, कवल तथा जग्गा भाडाबाट संकलित रकम बैंक खातामा जम्मा नगरी अपचलन गरिएको निष्कर्ष अनुसन्धानबाट निकालिएको हो । समितिबाट प्राप्त विवरण र उजुरीका आधारमा छानबिन गर्दा कर्मचारीहरूको मिलेमतोमा ठूलो रकम हिनामिना भएको देखिएको जनाइएको छ ।

अनुसन्धानमा समितिका तत्कालीन सदस्य सचिव टिकाराम ढकाल, नरहरी तिवारी र गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सहलेखापाल खड्कबहादुर राना संलग्न रहेको उल्लेख गरिएको छ । ढकाल वैदेशिक रोजगार विभागमा कार्यरत छन् ।

उनीहरूले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म विभिन्न भाडा शीर्षकबाट ४ करोड १८ लाखभन्दा बढी रकम उठाएको देखिएको छ ।

तर कानुनअनुसार सम्पूर्ण राजस्व बैंक खातामा दाखिला गर्नुपर्ने भए पनि जम्मा १ करोड २३ लाख रुपैयाँ मात्र खातामा राखिएको र बाँकी २ करोड ९४ लाख ७८ हजार रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको आरोपपत्रमा उल्लेख छ ।

आयोगका अनुसार उक्त रकम बैंकमा जम्मा भएको देखाउन नक्कली तथा भ्रामक आयव्यय विवरण तयार गरिएको थियो । ती कागजात समितिको बैठकमा अनुमोदनका लागि पेश गरी निर्णयसमेत गराइएको तथ्य अनुसन्धानबाट खुलेको बताइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर पुष्टि हुने आधार भेटिएको भन्दै आयोगले सम्बन्धित पदाधिकारी तथा कर्मचारीमाथि कानुनी कारबाही र सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १६:४९
प्रतिक्रिया दिनुहोस्