झापाली राई वर्खास्तमा परेपछि संखुवासभाका अधिकारीले पड्काए सचिव

बुधबार, वैशाख ३०, २०८३

अघिल्ला सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिवमा नेपाल सरकारका पूर्व सचिव सुरेश अधिकारीलाई सचिव नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए। उनको सिफारिस अनुसार राष्ट्रपति पौडेलले २०८१ साल असार १८ गते सचिवमा नियुक्त गरेका थिए। 

संसदका सचिव पद्मप्रसाद पाण्डेयको महासचिवमा बढुवा भएपछी रिक्त रहेको सचिवमा नियुक्त भएका अधिकारीले पाँच महिनामै राजीनामा दिएका थिए। एमाले अध्यक्ष समेत रहेका उ बेलाका प्रधानमन्त्रीको दबाबमा संखुवासभाका अधिकारीले राजीनामा दिनु परेको थियो। अधिकारीलाई हटाएर तत्कालिन भौतिक मन्त्री देवेन्द्र दाहालको सचिवालयमा कार्यरत झापाली हर्कराज राईलाई सचिव बनाउने योजना बमोजिम अधिकारीलाई राजीनामा दिन बाध्य पारिएको थियो। 

अर्काको छँदाखाँदाको पद छोड्न बाध्य पारेर प्रतिनिधिसभाको सचिव बनेका हर्कलाई अहिलेका सभामुख डिपी अर्यालले बर्खास्त गरिदिएका छन्। राईलाई सभामुखको सिफारिशमा राष्ट्रपतिले बैशाख २८ गते बर्खास्त गरिसकेका छन्। राई २०८१ पुस १६ मा प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका थिए।

राईलाई वर्खास्त गरेपछि सभामुख अर्यालले रिक्त सचिव पदमा संखुवासभाका प्रकाश अधिकारीको नाम नियुक्तिका लागि सिफारिस गरेका छन्। संखुवासभाका पूर्व सचिव सुरेश अधिकारीलाई हटाएर झापाका राईले उक्त पद हत्याए पनि उनलाई हटाएर फेरि संखुवासभाकै पूर्व उपसचिव प्रकाश अधिकारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो। 

संखुवासभाका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् । 

उनीसँग निजामती सेवामा २४ वर्षको अनुभव छ । अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । संविधानअनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्