भूमिगत बनेको चारदिनपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे समातिए

बुधबार, वैशाख ३०, २०८३

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार बिहान पक्रेको हो।

ठगी तथा आपराधिक विश्वासघातको कसूरमा उनलाई सिन्धुलीबाट समातिएको हो। सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्कस्थित मदन भण्डारी राजमार्गबाट थुतिएका पाण्डे शनिवारबाटै भूमिगत बनेका थिए। 

सो प्रकरणमा यसअघि शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए। उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए। 

यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत सोमबार मात्र उनीबारे भ्रामक समाचार आएको भन्दै विज्ञप्ति जारी गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट खटिएको टोलीको सहयोगमा पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे सवारी साधन चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

उनले आफ्नो मोबाइल फोन समेत स्विच अफ गरी लुकिछिपी बसेको अवस्थामा सीआईबीले फेला पारेको विज्ञप्तिमा उल्लेख छ। ६३ वर्षीय पाण्डे हाल ललितपुर-५, मानभवनमा बस्दै आएका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्