प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक २ बजे, ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन 

सोमबार, वैशाख २८, २०८३

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । त्यसका लागि अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।  त्यसका लागि सङ्घीय संसद्का सदस्यहरूलाई ३:४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। 

त्यसपछि सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् । सम्भावित कार्यसूचीमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्नेछन् भने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०८३ पेस गर्नेछन्।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १२:४६
प्रतिक्रिया दिनुहोस्