सोसल मिडिया
युनिकोड
काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारेको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काइरहेको सरकारले आइतबार बागमती र सहायक नदीका किनारमा डोजर चलाएको छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाको समन्वयमा अकपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काइएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ८० घर टहरामा डोजर चलेको छ। धोबी खोलाको किनार मिचेर अनामनगर क्षेत्रमा बनाइएका ६ घर भत्काइएको छ।
‘बालाजु, माछापोखरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७ वटा संरचना भत्काइएको छ। तीलगंगा क्षेत्रमा रहेका ह्याबी गाडी कपनतर्फ गइरहेका छन्। त्यहाँ तेन्जिङ चोकसम्म अतिक्रमित संरचना हटाउनुपर्नेछ’, रिजालले भने। उनका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकाभित्र २ हजारभन्दा बढी घरटहरा हटाइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि एक साता अघिदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमबासी बस्ती हटाउने काम सुरु भएको हो। शनिबार काठमाडौँको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो।
अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुर लगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’ मा राखिएको छ। त्यहाँ राखिएका भूमिहीन सुकुम्वासीको पहिचान गरी उनीहरूलाई व्यवस्थापन गर्ने काम भइरहेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न सुरु गरिएको छ। सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने काम भइरहेछ।