वालेन्द्र सरकारले यी चार मन्त्रालय कोल्याप्स पार्ने, जन्माईए यस्ता छ मन्त्रालय

आइतबार, वैशाख २०, २०८३

दुई तिहाई मत नजिकको वर्तमान वालेन्द्र शाह नेतृत्वको नेपाल सरकारले मन्त्रालयको संख्या कटौती गरेर १७ वटा मन्त्रालय मात्र कायम गर्ने भएको छ । सरकारले चार मन्त्रालयलाई कोल्याप्स गर्ने भएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव तयार पारेर प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छ। प्रधानमन्त्री वालेन्द्रले हरियो बत्ति बालेपछि सो प्रस्ताव पारित हुनेछ। 

१ सय दिनमा गर्ने सय कामभित्र मन्त्रालयको संख्या घटाई १७ कायम गर्ने सरकारले निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न गठित कार्यदलले खारेजी गर्ने, एकआसपमा गाभ्ने मन्त्रालयहरूको सूची तयार पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव तयार गरेको हो । ३० दिनको समय दिइएको कार्यदलले काम फत्ते गरिसकेको हो। 

कार्यदलले शहरी विकास, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने प्रस्ताव गरेको छ। 

सो प्रस्तावअनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई स्वास्थ्य मन्त्रालयमा गाभिनेछ । शहरी विकास र खानेपानीलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाइने गरी कार्यदलले प्रस्ताव गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयलाई दुईवटा क्लस्टरका रूपमा शिक्षा र महिला मन्त्रालयमा गाभिनेछ । खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभी शिक्षा तथा खेलकुद मन्त्रालय नामकरण गरिनेछ । त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा युवा, जनसंख्या र सामाजिक सुरक्षा गाभेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नामकरण गरिने प्रस्ताव गरिएको छ । यसैगरी भौतिक मन्त्रालयबाट यातायातलाई श्रममा लैजाने तयारी गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा दुई सेक्टरका रूपमा गाभिने गरी प्रस्ताव तयार गरिएको छ । मुख्य सचिवको अध्यक्षतामा कर्मचारी व्यवस्थापन बोर्ड गठन गरी सोही बोर्डबाट कर्मचारी सरुवा, पदस्थापनजस्ता कार्य गरिनेछ ।

त्यसैगरी, संघीय मामिलाका कार्यहरू सम्पादन गर्न प्रधानमन्त्री कार्यालयका सचिवलाई सेक्टरल जिम्मेवारी दिने र उनीमातहतको महाशाखाले संघीय मामिलाको कार्य गर्ने गरी प्रस्ताव गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा गाभेर कर्मचारी व्यवस्थापन र संघीय मामिला सेक्टर हेर्न सचिवलाई जिम्मेवारी दिइनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबीको सेक्टर प्रधानमन्त्री कार्यालयमा लगिने प्रस्ताव गरिएको छ । सञ्चार मन्त्रालयबाट सूचना प्रविधि, शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा लैजाने तयारी गरिएको छ । कार्यविभाजन नियमावली संशोधनसँगै प्रधानमन्त्री कार्यालयमातहत ५० वटा निकाय पर्नेछन् । 

प्रधानमन्त्री कार्यालयबाट सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको सरकारले अरु मन्त्रालयका विषयगत क्षेत्रहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमातहत ल्याएर झन् शक्तिशाली बनाउने तयारी गरेको हो । 

यी हुन् नयाँ छ वटा मन्त्रालयको नयाँ 

लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय
शिक्षा तथा खेलकुद मन्त्रालय
एकीकृत भौतिक पूर्वाधार मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालय
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
श्रम तथा यातायात मन्त्रालय 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्