पूर्व प्रधानमन्त्री कार्कीले आदर्शलाई दिएको दाइजो अध्यादेशले खायो

आइतबार, वैशाख २०, २०८३

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेका आदर्शकुमार श्रेष्ठको पनि पद गएको छ।

कार्कीले गएको फागुन अन्तिम साता श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनित गरेकी थिइन्। यसअघि श्रेष्ठ प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव थिए। 

नयाँ सरकार बन्नुअघि रातारात प्रमुख स्वकीय सचिवलाई कोषमा नियुक्ति दिलाएकोमा कार्कीको व्यापक आलोचना भएको थियो। 

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ सँगै अघिल्लो सरकारबाट राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुँदा श्रेष्ठको पनि पद गएको हो। 

बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मा ‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू’ पदमुक्त हुने उल्लेख छ। ‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिम नै श्रेष्ठको पनि नियुक्ति भएको थियो। 

पद छाड्नुअघि कार्कीले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेकी थिइन्। कार्कीको यो सिफारिसमा राष्ट्रपति पौडेलले अझै कुनै कदम चालेका छैनन्। 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्