सबैभन्दा उच्च ओहोदाका अमेरिकी कुटनीतिज्ञको नेपाल प्रवेश, हुँदैछ के-के ?

बिहीबार, वैशाख १७, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन्। काठमाडौं रहँदा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँगको भेटघाट गर्ने निश्चित भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग उनको भेटवार्ता हुने वा नहुने बिहीबार बिहानसम्म निश्चित छैन। यसअघि अप्रिल २० मा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोलीले भेटवार्ताका लागि सम्पर्क गर्दा शाहले भेट दिएका थिएनन्। 

गोरले तीन दिन नेपालमा रहँदा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन्।

हाल भारतका लागि अमेरिकी राजदूत पनि रहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासिला कुटनीतिज्ञ मानिन्छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उच्च स्तरीय भ्रमणका क्रममा हुने भेटवार्ताहरुको तालिका पहिलै तय भइसक्छ। विशेष दूत गोर र प्रधानमन्त्रीसँगको भेटवार्ताबारे अहिले केही भन्न सक्ने अवस्था छैन।’

परराष्ट्र स्रोतका अनुसार ट्रम्पका दूत गोरले प्रधानमन्त्रीसँग भेट्न शुक्रबार वा शनिबारको कुनै अनुकूल समय मागेका छन्। प्रधानमन्त्रीको तर्फबाट कुनै निर्णय आइसकेको छैन। २०८२ फागुन २१ को चुनाबपछि शाह सरकार बनेपछि नेपाल आउन लागेका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कुटनीतिज्ञ हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्