सोसल मिडिया
युनिकोड
झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको हो ।
भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएर उनीहरूले अनियमितता गरेको अख्तियारको भनाइ छ ।
भवन निर्माण बाहेक प्रधानाध्यापक र लेखापालको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखिकै नगद मौज्दात हिनामिना गरेको समेत अनुसन्धानबाट खुलेको छ। उनीहरूले १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु राखेको र १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोगमा ल्याएको अख्तियारले जनाएको छ। उक्त स्कूल हालका प्रधानमन्त्री वालेनको निर्वाचन क्षेत्र पनि हो।
अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी हिनामिना भएको रकम असुल उपर गर्न मागदाबी लिइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।