वैशाख १८ गते बुद्धजयन्तीका दिन प्रधानमन्त्री वालेन्द्रले लुम्बिनीमा धूप बाल्ने 

आइतबार, वैशाख १३, २०८३

२५७०औँ बुद्धजयन्तीका अवसरमा १८ वैशाखमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लुम्बिनीमा जाने भएका छन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री शाहले कार्यक्रममा सहभागी भई पूजाआजा गर्ने कार्यक्रम तय भएपनि औपचारिक सम्बोधन भने नगर्ने भएका छन् ।

विगतका वर्षहरूमा राष्ट्र वा सरकार प्रमुखले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक त्यस्तो कार्यक्रम नराखिएको कोषले जनाएको छ ।

कोषका सूचना अधिकृत राजन बस्नेतले बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री शाह पूजामा सहभागी हुने तर भाषण नगर्ने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष खड्कराज पौडेल (गनेश), रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानलगायतको सहभागिता रहने छ ।

कार्यक्रम बिहान ५ बजे सुरु भइ ६ बजेसम्ममा सम्पन्न गर्ने योजना छ । लुम्बिनी विकास कोषको संरक्षकको रूपमा प्रधानमन्त्री रहने कानुनी व्यवस्था भएअनुसार उनको सहभागिता विशेष महत्त्वका साथ हेरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्