नारायणलाई सशस्त्र प्रहरीको मूलीको फूली दिन बालेन पूरै राजी

बिहीबार, वैशाख १०, २०८३

वैशाख १८ गते सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजीपी) राजु अर्याल घर जाने भएपछि वालेन्द्र सरकारले एआईजी नारायणदत्त पौडेललाई आईजीपी बनाउने भएको छ। आज डाकिएको क्याबिनेटले उनको बढुवा गर्ने भएको हो। 

गृह मन्त्रालय स्रोतका अनुसार अर्याल स्वयंले कार्यकाल सकिनुअघि नै विदा बसेर संस्थागत प्रणाली बसाल्ने उद्देश्यसहित नयाँ नेतृत्व चयनका लागि आग्रह गरिसकेका छन्। सोही आधारमा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट पौडेललाई आगामी कार्यकालका लागि आईजीपी नियुक्त गर्ने सम्भावना रहेको छ।

महानिरीक्षक पदका लागि एआईजीहरू नारायणदत्त पौडेल र वंशिधर दाहालबीच प्रतिस्पर्धा रहेको थियो। तर, पौडेल दाहालभन्दा करिब पाँच महिना अगाडि एआईजीमा बढुवा भएकाले उनी अघि देखिएका हुन्। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल असोज २८ गते सो पदमा पुगेका थिए।

प्रस्तावित नयाँ प्रमुख पौडेल २०५४ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रवेश गरेका अधिकृत हुन्। अर्यालको चार वर्षे कार्यकाल पूरा भएपछि घर जाने टुंगो लागेको हो। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्