बिचौलिया भट्टको धन्धा ढाकछोप गर्ने मतियार ठाकुरले श्रीमती पोसे, रामेश्वरले किन पठाए ?

बुधबार, वैशाख ९, २०८३

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बिचौलिया दिपक भट्टको सम्पत्ति शुद्धीकरणको मुद्दा कमजोर पार्न भूमिका खेलेको स्पष्ट भएको छ । भट्टको इन्फिनिटि होल्डिङ शेयर होल्डर रहेको हिमालय रि-इन्स्युरेन्समा महानिर्देशक ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको २० हजार कित्ता शेयर लिएर मुद्दा कमजोर पार्ने सौदाबाजी भएको हो।

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई हाजिरी जमानीमा छाड्नेदेखि अन्य कर्मचारीलाई जोगाउनेसम्म महानिर्देशक ठाकुरले भूमिका खेलेको आरोप लागेको हो।

दीपक भट्ट र शंकर समूहसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरको व्यवसायिक सम्बन्ध र स्वार्थ रहेको र उनको नेतृत्वमा भइरहेको अनुसन्धान कमजोर हुने आशंका गरिएको छ। भट्ट र शंकर समूहको सेटिङमा खडा गरिएको हिमालय रि-रिइन्स्युरेन्स २० हजार कित्ता संस्थापक शेयर महानिर्देशक ठाकुरकी श्रीमती राखीको नाममा रहेकाले अनुसन्धानमा उनले खेल्ने भूमिकामाथि आशंका र प्रश्न उब्जिएको हो।

विवादित हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर श्रीमतीको नाममा लिएका महानिर्देशक ठाकुर दोहोरिए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका थिए। आफू समेत मुछिएपछि भट्टसँग ‘भित्री कारोबार’मा संलग्न धेरै कर्मचारीलाई जोगाउन उनी सक्रिय रहेको बताइन्छ। भट्टसँगै बयान लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाललाई समेत जोगाउन चलखेल गरिरहेको स्रोतले बतायो। 

ठाकुर विभागमा दोहोर्याएर जानुको चुरोकुरो नै भट्टलाई सुनपानी छर्किनु हो।पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सहसचिव सुमन दाहालपछि २०८२ भदौ १९ गते कृष्णप्रसाद मैनालीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । सहसचिव मैनालीलाई एक महिना नपुग्दै सरुवा गरेको हो । मैनालीलाई धपाएर त्यहाँ पुगेका ठाकुरले नचाहिने काम मात्र गरेका छन् ।

ठाकुर यसअघि २०७७ फागुन २१ गतेदेखी २०७८ असोज १ गतेसम्म महानिर्देकको जिम्मेवारीमा रहेका थिए । उनलाई चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले गत असोज २१ गते महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ०९:१४
प्रतिक्रिया दिनुहोस्