रास्वपामा महामन्त्री सहित वालेन कोटाका तीन अटाए, पूर्व सचिव सल्लाहकार

मंगलबार, वैशाख ८, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन् । उनलाई महामन्त्री मनोनीत गर्न पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति रवि लामिछानेले प्रस्ताव राखेका थिए । सो प्रस्ताव अनुमोदन भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

शाह फागुन २१ गतेको चुनावमा अछाम–२ मा उम्मेदवार थिए । तर, पराजित भएका थिए । शाह प्रधानमन्त्री बालेन्द्र शाहका निकट व्यक्ति हुन् । बालेन काठमाडौं महानगरको मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । 

यस्तै रास्वपा केन्द्रीय सचिवालयमा दुई जना थपिएका छन् । प्रवक्ता झाका अनुसार सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका हुन् । ढकाल र ज्ञवाली पनि वालेनकै कोटाको भएको बुझिएको छ। 

यस्तै केन्द्रीय सल्लाहकार परिषद्मा पनि सदस्यहरू मनोनीत भएका छन् । प्रवक्ता झाका अनुसार जीवन प्रभा लामा (काभ्रे), मोतीप्रसाद पंगाली (नवलपरासी पूर्व), हरिप्रसाद पाण्डे (भक्तपुर) र बिष्णुहरी शर्मा (कपिलवस्तु) लाई परिषद्मा मनोनीत गरिएको छ । लामा नेपाल सरकारको निमित्त सचिव भएर अवकाश पाएकी व्यक्ति हुन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्