सोसल मिडिया
युनिकोड
वैदेशिक रोजगार विभाग, ताहचलस्थित अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा (नासु) हेमबहादुर मस्राङ्गीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार साँझ घुस बापतको १५ हजार रूपैयाँसहित विभाग परिसरबाटै नियन्त्रणमा लिएको हो।
वैदेशिक रोजगार ठगी सम्बन्धी एक मुद्दाको प्रक्रिया मिलाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेका थिए। सो बारेमा उजुरी परेपछि त्यही सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले घुस रकम लिइरहेको बेला उनलाई पक्राउ गरेको हो।
अख्तियार स्रोतका अनुसार मस्राङ्गीले विभागको मुद्दा शाखा नजिकै रहेको शौचालयमा घुस रकम बुझेका थिए। 'निजलाई ट्वाइलेटबाट निस्कँदा रकमसहित नियन्त्रणमा लिइएको हो,' अख्तियार स्रोतले भन्यो।
खानतलासीका क्रममा नासु मस्राङ्गीको साथबाट घुसवापतको १५ हजार रुपैयाँ मात्र नभई, स्रोत नखुलेको थप ७७ हजार ६०० रुपैयाँ समेत बरामद भएको छ। उनको साथबाट कुल ९२ हजार ६०० रुपैयाँ नगद बरामद भएको हो।
अख्तियारले मस्राङ्गीले प्रयोग गर्ने तीनवटा स्मार्टफोन जफत गरेको छ। अन्य व्यक्तिहरूसँगको सेटिङ वा थप भ्रष्टाचारजन्य क्रियाकलापमा उनको संलग्नता हुन सक्ने आशंकामा फोनको प्राविधिक परीक्षण र अनुसन्धान सुरु गरिएको छ।
पक्राउ परेका मस्राङ्गीलाई थप अनुसन्धान र कारबाहीका लागि टंगालस्थित आयोगको हिरासतमा राखिएको छ।