सोसल मिडिया
युनिकोड
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपकुमार साह मन्त्री बनेको दुई सातामै पदमुक्त भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई बिहीबार पदमुक्त गरेका हुन् । प्रधानमन्त्रीसँगै स्वास्थ्यविज्ञ साह श्रम मन्त्री नियुक्त भएका थिए । नियुक्त भएको दुई सातामा साह पदमुक्त भएका हुन् ।
किन पदमुक्त भए साह ?
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री शाहलाई पत्र लेखेरै सिफारिस गरेपछि बिहीबार श्रममन्त्री साहलाई पदबाट हटाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
रास्वपाको पत्रमा श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरेको आरोप छ ।
साहले श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोपमा रास्वपाले केन्द्रीय अनुशासन आयोगमार्फत् अध्ययन गराएको थियो ।
आयोगले कारबाही सिफारिस गरेको प्रतिवेदनसहित पार्टी सभापति रवि लामिछानेले मन्त्रीलाई कारबाहीका लागि पत्रमार्फत् प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
१९ पटक मन्त्री बनेका जसपाका उमेदवार शरत्सिंह भण्डारीलाई हराउँदै महोत्तरी–२ बाट निर्वाचित भएका साह स्वास्थ्यविज्ञ हुन् ।
उत्साहजनक जित निकाल्दै संसद् प्रवेश गरेर मन्त्री भएका उनी श्रीमतीको जागिर जोगाएको आरोपमा बर्खास्त भए ।
एमबीबीएसमा नाम निकाल्दिन्छु भन्दै पक्राउ परेको सत्य भए पनि अर्काको गल्तीको सजाय पाएर सफाइ पनि पाइसकेको ती सांसदको भनाइ छ ।
महोत्तरी–२ बाट निर्वाचित साह पनि पहिलेदेखि नै यस्तै समस्यामा फस्दै आएको बताए ।
प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई बर्खास्त गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन् ।
श्रममन्त्री साहको यसअघि पनि विवाद आएको थियो । उनी मन्त्री बन्दा नै विवादित व्यक्तिलाई मन्त्री बनाएको भनेर आलोचना भएको थियो ।
के थियो पुरानो विवाद ?
साहले नौ वर्ष अघि वर्ल्डवाइड कन्सल्टेन्सीको सञ्चालक हुँदा विवादमा तानिएका थिए । एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सञ्चालकहरू दीपककुमार साहसँगै सिन्धुली घर भएका गणेश अधिकारी ०७३ असोज १६ मा पक्राउ परेका थिए ।
प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तसँग एक व्यक्तिले आफू पुतलीसडकस्थित वर्ल्डवाइड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरूसँग पनि राम्रो चिनजान रहेको भनेर पैसा मागेका थिए ।
असोज १५ गतेदेखि काठमाडौं विश्व विद्यालयबाट हुने एमबीबीएस परीक्षामा पास गरिदिन्छु, तर पैसा लाग्छ भनेर पन्तको आमा विमला पन्तसँग दुई लाख लिने सहमति गरेका थिए ।
पन्तको तर्फबाट महानगरीय अपराध महाशाखामा ठगीको जाहेरी परेपछि अधिकारी रकम बार्गेनिङ गरी दुई लाखको चेक लिएको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीको नियन्त्रणमा परेका थिए ।
उक्त मुद्दामा साह पनि तानिएका थिए । तर, उक्त ठगी मुद्दामा नौ वर्षअघि नै साहले सफाइ पाएको पाइएको छ ।
०७३ मा प्रहरीले साहलाई ठगी मुद्दामा पक्राउ गरेको भए पनि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट उनले सफाइ पाएका हुन् । ठगीको आरोपमा पक्राउ परेका साह र अधिकारीविरुद्ध ०७३ कात्तिक ३ मा काठमाडौं जिल्ला अदालतमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो ।
०७३ मंसिर १० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले साह र अधिकारीविरुद्धको ठगी मुद्दामा दाबी नपुग्ने भन्दै सफाइ पाउने आदेश गरेको थियो ।