हप्तामा दुई दिने बिदा कति टिक्ला ? शक्तिशाली सरकारले किन गर्यो निर्णय ?

आइतबार, चैत २२, २०८२

सरकारले सरकारी कार्यालयको कार्यसमय परिवर्तन गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र बढ्दो लागत न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कदम चालेको हो।

नयाँ व्यवस्थाअनुसार अब शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरू बिहान ९ बजे खुल्नेछन् भने साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि १० देखि ५ बजेसम्मको कार्यालय समय रहेकोमा कार्यसम्पादनमा असर नपरोस् भनी बिहान एक घण्टा समय थप गरिएको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिँदै भने, ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।’

शनिबार र आइतबार दुई दिन बिदा मन्त्रिपरिषद्ले भोलिबाटै लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयसमेत पनि गरेको छ। यो नियम सरकारी कार्यालय र शैक्षिक संस्था दुवैको हकमा लागू हुनेछ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उत्तारचढाव र आपूर्तिमा देखिएको समस्याका कारण इन्धन खपत घटाउन सरकारले परीक्षणका रूपमा यो 'टु-डे अफ' मोडेल अपनाएको हो। पूर्ववर्ती सरकारले दुई पटक प्रयोग गरेर पार नलागेको निर्णय शक्तिशाली सरकारले फेरि गरेको छ। 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्