कांग्रेसको आधिकारिकता विवादको सुनुवाइ किन भयो स्थगित ?

आइतबार, चैत २२, २०८२

नेपाली कांग्रेसको आधिकारिकता विवादको सुनुवाइ स्थगित भएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दायर गरेको थियो ।

यो मुद्दाबारे सर्वोच्च अदालतमा आइतबारका लागि पेसी तोकिए पनि सुनुवाइका लागि इजलास नतोकिएको हो । यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

६ माघ २०८२ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो । निर्वाचन आयोग,नेपाली कांग्रेस पार्टी कार्याल र सभापति गगन थापाले लिखित जवाफ पेस गरेसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो ।

देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । अदालतको आदेशपछिमात्र पार्टीभित्रको विवाद समाधान हुने भन्दै देउवा समूह पर्ख र हेरको अवस्थामा थियो ।

उनीहरूले आफ्नो समूहको भेला राखेर संस्थापन समूहलाई दबाब बढाउँदै आएका छन् । कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सो काम नगर्न कांग्रेसको अनुशासन समितिले सचेत गराएको छ । 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्