सोसल मिडिया
युनिकोड
कर्मचारीको आपसी गठजोडमा घुस लेनदेन गर्दै पर्ती जग्गा व्यक्तिको नाममा दर्ता गराएको अभियोगसहित मालपोत कार्यालय धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ६७ लाख ६८ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
साविक धनकुटाको तांखुवा गाउँ विकास समिति वडा नं. ९ स्थित कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ का सरकारी जग्गाहरू २०६६ साल मंसिर २१ को निर्णयले व्यक्तिगत कायम गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय र बिगो असुलीको माग गरिएको छ ।
अख्तियारले मालापोतका तत्कालीन शाखा अधिकृत टंकप्रसाद दुवाडी र नापी कार्यालय धनकुटाका तत्कालीन सर्वेक्षक राजेन्द्रप्रसाद यादवमाथि समेत भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ । दुवाडी र यादव छुट जग्गा दर्ता समितिका सदस्य समेत थिए । उनीहरूलाई पनि भ्रष्टाचारमा त्यति नै बिगो भराउन माग गरिएको छ ।
यस्तै, मालपोत कार्यालय, धनकुटाका तत्कालीन नायब सुब्बा छविलाल फुयाल, धनकुटाको साविक तांखुवा गाउँ विकास समितिका सचिव भक्तबहादुर भट्टराई र जग्गाधनी माधवबहादुर भट्टराईबाट पनि सोही परिमाणमा बिगो कायम गरी सजायको मागदाबी छ ।
स्थानीय नौजनाको जग्गा सकार गर्ने गजेन्द्र थापाबाट जग्गा जफत हुन मागदाबी लिइएको छ । सरकारी जग्गा कि.नं. ३८५ सँगै जोडिएका यी जग्गाहरूको फिल्डबुक तयार गर्दा सरकारी संकेतसम्म पनि नराखी गलत व्यक्तिको नाम राखेको दाबी अभियोगपत्रमा छ । ती कित्ताका जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को बमोजिमको म्यादमा समेत अन्य कुनै व्यक्तिले दावी नगरेको दाबी समेत अख्तियारको छ ।