ओलीको गिरफ्तार विरुद्द एमालेले गरेको आन्दोलन चर्किने यसकारण छैन छेकछन्द

आइतबार, चैत १५, २०८२

जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदनको आधारमा अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले गिरफ्तार गरेपछि चर्को आन्दोलन उठाउन खोजिरहेको नेकपा (एमाले)लाई अन्य राजनीतिक दल तथा आम नागरिकहरूको समर्थन कम्जोर देखिएको छ।

एमालेका सचिव महेश बस्नेतले छिनछिनमा फेसबुकमार्फत आन्दोलनका कार्यक्रम र स्थितिबारे सूचना दिइरहेका छन्।

आन्दोलनमा सहभागी कार्यकर्तालाई प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेको तस्बिर तथा भिडियोहरू शेयर गर्दै उनी आन्दोलन उठाउन जोडतोडले लागिरहेका छन्। एमालेले भोलिका लागि पनि प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ। तर अपेक्षाकृत जनसहभागिता देखिँदैन।   

देशको सबभन्दा राम्रो सांगठनिक संरचना र क्रियाशील कार्यकर्ता रहेको पार्टी मानिने एमालेले शनिबार ओली पक्राउ पर्नासाथ सचिवालय बैठक राखेर आन्दोलन चर्काउने निर्णय गरेको थियो। यसका लागि देशब्यापी कार्यकता परिचालन गर्नुका साथै अन्य दलको सामर्थन जुटाउन नेताहरूको जिम्मेवारी विभाजनसमेत गरिएको छ। पार्टी निकट जनवर्गीय संगठनहरूले राजधानीमा प्रदर्शन गरिरहेका छन्। तर आम नागरिकहरूको सहभागिता देखिन्न।

शनिबार माइतीघर क्षेत्रमा गरेको पहिलो प्रदर्शनमा केहि सयको संख्यामा कार्यकर्ता देखिएका थिए। आईतबार पनि प्रदर्शनमा ठूलो संख्याको उपस्थिति देखिएन। सडकमा सिमिति संख्याका कार्यकर्ताहरू प्रहरीसँग भिडिरहेको देखिन्छ।

एमालेले पोखरा, बुटवल, विराटनगरलगायत देशका ठूला शहर तथा जिल्ला सदरमुकामहरूमा पनि विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ। तर ती ठाउँमा पनि कार्यकर्ता र आमनागरिकको सहभागिता अत्यन्तै सानो देखिएको छ। देशभरका एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा पोष्ट गरेका भिडिओ तथा मिडियाहरूमार्फत सार्वजनिक तस्बिरहरूमा पार्टीका अघिल्लो पंक्तिमा खटिने नेताहरूको मात्र सहभागिता देखिन्छ। 
 
ओलीको गिरफ्तारी विरुद्ध पार्टीका शीर्ष नेताहरू नै मौन देखिन्छन्। सचिवालय बैठकले गिरफ्तारीको विरुद्ध आन्दोलन गर्ने घोषणा गरे पनि पदाधिकारीहरू नै चुप देखिन्छन्। सामाजिक सञ्जालमा सक्रिय देखिने सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत नेताहरूले सार्वजनिक रूपमा ओलीको गिरफ्तारी विरूद्ध खासै टिप्पणी गरेका छैनन्। सामाजिक सञ्जालमा पनि खासै शब्द खर्च गरेका छैनन्। 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्