ओलीलाई अदालतमा पाईला नटेकाईने, ‘भिडिओ कन्फ्रेन्स’ मार्फत काम तमाम 

आइतबार, चैत १५, २०८२

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भिडिओ कन्फ्रेन्स’ मार्फत म्याद थपको मुद्दा अगाडी बढाउन प्रहरीले माग गरेको छ। 

शनिबार पक्राउ गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएका ओलीलाई स्वास्थ्यका कारण अदालतमा उपस्थित गराउन नसकिने भन्दै प्रहरीले ‘भिडिओ कन्फ्रेन्स’ मार्फत नै म्याद थप गरिदिन माग गरेको हो। ओलीको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्यका कारण अदालत लग्न नमिल्ने बताएका थिए।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको म्याद थपबारे आदेश हुनेछ। लेखकलाई भने आइतबार बिहान १० बजेपछि अदालतमा उपस्थित गराइसकिएको छ। लेखकलाई पक्राउपछि प्रहरीको महाराजगञ्जस्थित २ नं. गणमा राखिएको छ। 

अस्पतालमा चिकित्सकको निगरानीमा राखिएका ओलीलाई भने म्याद थपका लागि भौतिक रुपमा उपस्थित नगराउने तयारी छ। न्यायाधीश श्रेष्ठले पनि सुरुमा इन्कार गरेका थिए। तर पछि उनी पनि सकारात्मक देखिएका छन्। 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने उपस्थित नगराउने भन्ने निर्णय भइनसकेको बताए। 

भदौ २३ गतेको घटनामा आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउँदा रोक्न आदेश नदिएको भन्दै ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न शनिबार बिहान ओली र लेखबलाई पक्राउ गरिएको थियो। जाँचबुझ आयोगले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्री सुधन गुरुङले प्रहरीलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्