ओली सहित ओली क्याबिनेटका चार मन्त्री खोरमा जाकिए

आइतबार, चैत १५, २०८२

बालेन शाहले सरकारको नेतृत्व लिएसँगै एकपछि अर्को उच्चपदस्थ व्यक्तिहरू पक्राउ पर्न थालेका छन् ।

शनिबार बिहान मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । उनीहरूलाई जेनजी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै नियन्त्रणमा लिइएको हो ।

आइतबार बिहान फेरि ओली प्रधानमन्त्री हुँदाका मन्त्रिपरिषद्का सदस्य एवं तत्कालीन ऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले धुम्बाराहीबाट पक्राउ गरेको हो । 

ओली, लेखक र खड्कालाई पक्राउ गर्न गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निर्देशन रहेको प्रहरी मुख्यालयले जनाएको छ । 

त्यस्तै ओली क्याबिनेटका अर्का मन्त्री भ्रष्ट्राचार काण्डमा थुनामै छन् । पोखराको लिचीबारी जग्गा काण्ड लागेका पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले जेल पठाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्