श्रीमती राधिकालाई अँगालो हालेर ओलीको शनिबार सबेरै हिरासत यात्रा

शनिबार, चैत १४, २०८२

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । 

शनिबार सबेरै उनीहरुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ । 

दुवै जनालाई भक्तपुरबाट पक्राउ गरिएको हो । ओलीलाई गुन्डु र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको थियो । यो सँगै उनीहरुमाथिको अनुसन्धान कसरी बढ्छ भन्ने चासो बढेको छ । प्रहरीले भने ओली र लेखकको अनुसन्धान प्रक्रिया अरु नागरिक पक्राउ पर्दा जसरी अघि बढाइन्छ सोही अनुसार जाने बताउँछन् ।

आज शनिबार पक्राउ परेका कारण ओली र लेखक दुवै जनालाई परिसरकै हिरासतमा राखिने छ ।  आइतबार भने प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गरिने छ ।

प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ । भदौ २३ र २४ को जेनजी प्रदर्शन हिंसात्मक हुँदा भएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ मा प्रतिवेदन तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाएको थियो । 

तर, शुक्रबार बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै ओली र लेखक पक्राउ गरेर प्रतिवेदन कार्यान्वयनमा गएको छ । ओली र लेखकबाहेकलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।

सुरक्षा अधिकारीमाथिको सिफारिस भने पुनः छानबिनपछि अघि बढ्ने सरकारले निर्णय गरेको छ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र तत्कालिन गृहसचिव गोकर्णमणि दवाडीलाई समेत प्रहरीले पक्राउको तयारी गरेको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गृहमन्त्री लेखकलाई पनि मुलकी अपराध संहिता अनुरुप कारबाही गर्नुपर्ने देखिएको उल्लेख गरेको छ । भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा निस्किएका जेनजी युवाहरूको ज्यान जिम्मेवार पदाधिकारीको लापरबाहीपूर्ण र हेलचेक्र्याइँले गएको भन्दै अपराध संहिता अनुरुप कारबाही सिफारिस गरेको आयोगले भनेको छ ।

आयोगले उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८१ बमोजिम ‘लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान गरी सजाय गर्न सिफारिस गरेको हो ।  यो दफा अन्तर्गत अभियुक्तलाई तीनदेखि १० वर्षसम्म कैद सजाय र ३० हजार देखि एकलाखसम्म जरिबाना हुन सक्छ ।

आयोगको यस्तो सिफासिरमा पूर्वप्रहरी प्रमुख आईजीपी चन्द्रकुँवेर खापुङ पनि छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन ७६ जनाको मृत्यु भएको थियो ।

पक्राउ पर्दा ओलीको हाउभाउ

बालेन नेतृत्वको सरकार बनेसँगै पहिलो शुक्रबार बसेको पहिलो मन्त्रिपरिष्दको बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय शनिबार नै कार्यान्वयनमा गएको हो । प्रहरीले ओली र लेखकलाई पक्राउ गर्न शुक्रबार रातभर अन्तरिक छलफल गरेको थियो ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ, प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल रातभर नै छलफलमा थिए ।  प्रहरी र सशस्त्र प्रहरी बलले ओली र लेखक पक्राउ पर्दा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै दुवै सुरक्षा फौजका टोलीले रातिबाट नै युनिफर्ममा रहन हाइ अलर्ट जारी गरेका थिए । 

राति नै ओली र लेखकको घरमा पुगेका प्रहरीको टोलीले लेखक र ओलीलाई एकसाथ पक्राउ गर्ने योजना बनाएका थिए ।  लेखकलाई करिब ६ बजे पक्राउ गरेको प्रहरीले त्यसको केही बेरमा ओलीलाई पनि पक्राउ गरेको थियो ।

ओलीलाई पक्राउ गर्न काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोली ओली निवास छिरेको थियो ।झडप हुनसक्नेभन्दै बाहिर ठूलो मात्रामा प्रहरीको टोली परिचालन गरिएको थियो । पक्राउ गर्न पुगेका एक प्रहरी अधिकारीले भने ओलीले सहज तरिकाले नै गिरफ्तारी दिएको बताए । ती प्रहरी अधिकारीसँग ओलीले भनेका थिए,‘‘यतिधेरै प्रहरीको हुल बोकेर किन आउनु भएको ? म यत्तिकै पनि गइहाल्थे नि !”

प्रहरीले जारी गरेको जरुरी पक्राउ पुर्जी पनि ओलीले सहज नै स्वीकार गरे । प्रहरीको एउटा टोली राति २ बजे नै पुगेको थियो भने अर्को टोली ४ः३० बजेमात्रै पुगेको थियो ।

“आफ्नो गिरफ्तारी प्रति सरकारमाथि कुनै आक्रोश पनि पोख्नु भएन,’’ प्रहरी स्रोतले भन्यो, “उहाँ सहजै तयार हुनुभयो । बाहिर निस्किने बेलामा राधिका शाक्यसँग अँगालो हालेर बिदा हुनुभयो ।”

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्