सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट निगरानीका लागि प्रहरी गुण्डुमा खटाइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकलाई जसरी पनि पक्राउ गर्नु पर्ने गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि प्रहरीले त्यसका लागि तयारी गरेको हो।
तर प्रहरीले पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्नका लागि सरकारसँग लिखित निर्देशन माग गरेको छ। लिखित निर्देशनविना जरुरी पक्राउ पुर्जी दिन नमिल्ने प्रहरीले भनेको छ।
प्रहरीलाई लिखित निर्देशन नै दिन गृहमन्त्री गुरुङ तयार भएका छन्। त्यसका लागि उनले कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालाई समेत प्रहरी मुख्यालय झिकाएका थिए। गृहसचिव राजकुमार श्रेष्ठ र दुवै प्रहरी प्रमुखसहित सवा १२ बजेसम्म छलफल भएको हो।
अब आवश्यक प्रक्रिया पूरा गरेर प्रहरीले जुनसुकै बेला ओली लेखकलाई पक्राउ गर्न सक्ने भएको छ। प्रहरी प्रधान कार्यालयसहित उपत्यकाका प्रहरी युनिटमा तयारी अवस्थामा रहन मौखिक सर्कुलर जारी भइसकेको छ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। सुरक्षाकर्मीको हकमा भने तत्काल कार्यान्वयन नगर्ने र आयोगको सिफारिस अध्ययन गरेर मात्रै अगाडि बढ्ने निर्णय भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई तत्काल पक्राउ गरेर कारबाही अगाडि बढाउने सरकारको तयारी छ।