पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न गणित मिलाइदै

शुक्रबार, चैत १३, २०८२

सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेबारे छलफल थालेकाे छ ।

जेन–जी आन्दोलनबारे जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै सरकार पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्नेबारे छलफलमा जुटेको हाे । 

वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद बैठकको पहिलो निर्णयअनुसार सरकारले ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफल थालेकाे सुरक्षा र रास्वपा स्राेतले जानकारी दिएकाे हाे ।

गृहमन्त्री सुधन गुरुङ पनि सुरक्षा निकायका प्रमुखसँग परामर्शमा रहेकाे स्राेतले जनाएकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद्को पहिलो बैठकले गत २३ र २४ भदाैकाे जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको थियाे ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो । आयोगले ओली, लेखक र खापुङलाई १० वर्ष कैद हुने कसुरमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।

सरकारले सुरक्षा निकायका हकमा अध्ययन गर्न समिति गठन गर्ने र अन्यको हकमा भने सिधै प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेकाे हाे । 

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्