निर्वाचन लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्रीको ठहर

बुधबार, चैत ११, २०८२

प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

बुधबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उनले यस्तो बताएकी हुन्। वर्तमान सरकारले जेन–जी आन्दोनलपछिको असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउन सफल भएको बताइन्।

निर्वाचन गराउने कार्य चुनौतिपूर्ण थियो भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गरिन्।

प्रधानमन्त्री कार्कीकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ। निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाई छ।

सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उनले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको उल्लेख गरिन्।

कानुनी–राजनीतिक शून्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्य सहज नभएको उनको भनाइ छ। उनले सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको कार्यले सफलता हासिल गरेको बताइन्।

उनले भनिन्, ‘जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हो। निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ’ उनले भनिन्, ‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको कुशल नेतृत्वमा निर्वाचन आयोगले प्रष्ट कार्ययोजना, व्यवसायिक दक्षता र दृढ विश्वासले सफलता पाएको छ, यो कति चुनौतीपूर्ण थियो भन्ने हामीलाई राम्रो ज्ञान छ।’ 

प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको बताइन्। उनले निर्वाचन घोषणापछि समेत मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको जानकारी दिइन्।

राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक अन्तरआवद्धता गरी मतदाता प्रक्रियालाई सहज बनाइएको उनको भनाइ छ। उनले निर्वाचनमा मौज्दात सामग्रीको पुनःप्रयोग, सकेसम्म स्वदेशी सामग्रीको प्रयोग र सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रियाले खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रश्तुत गरेको दाबी गरिन्।

उनले भनिन्, ‘यसपाली हामीले केवल एक थान निर्वाचन मात्रै गराएका छैनौँ, सुरक्षा स्वच्छता, मितव्ययिता र समयको पालनामा एउटा मानक नै स्थापना गर्न सफल भएका छौँ। विशेष परिस्थितिमा सम्पन्न यो निर्वाचनले थुप्रै नविन र सकरात्मक अभ्यासहरु स्थापित गरेको छ।’ 

आगामी सरकारले पनि यस कार्यलाई अनुशरण गर्ने उनको विश्वास छ। उनले आचारसंहिताको कडा निगरानी तथा सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको बताइन्। 

उनले निर्वाचनको लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोग लगायत सबैलाई धन्यावाद दिइन्। निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको उल्लेख गरिन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्